हर्क साम्पाङलाई ‘ह्यारीकी प्यारी’ टिमको रुद्राक्ष बिरुवा उपहार

हर्क साम्पाङलाई ‘ह्यारीकी प्यारी’ टिमको रुद्राक्ष बिरुवा उपहार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा प्रमोसनका लागि मोफसल टूरमा रहेको ‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटेका छन् ।

बिहिबार कलाकार जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, डिओपी सुदिप बराल र निर्देशक डा. कपिल रिजाललगायतको टिमले धरानस्थित श्रम संस्कृति पार्कमा पुगेर मेयर साम्पाङलाई सय वटा रुद्राक्षको बिरुवा प्रदान गरेको थियो ।

निर्देशक रिजालले मेयर साम्पाङको काम गर्ने तरिकाले आफु प्रभावित भएकाले धरान आएको बेला बिरुवा उपहार लिएर भेट्न आएको बताए ।

‘धरानसंग मेरो बाल्यकाल जोडिएको छ । यहिँ हुर्केर पढेको मान्छे हुँ म । देश दौडाहको क्रममा यहाँ आउँदा हर्क सरलाई पनि भेटौं भन्ने लाग्यो । त्यसै अनुरुप सय वटा रुद्राक्षको बिरुवा लिएर आएका छौं । हामि रहे नरहेंपनि यी रुख रहिरहने छन् ।’ रिजालले साम्पाङलाई बिरुवा प्रदान गर्दै भने ।

अभिनेत्री शाहले मेयर साम्पाङको काममा हौसला बढाउन बिरुवा सहयोग गरेको बताउदै ‘ह्यारीकी प्यारी’पनि हेरिदिन आग्रह गरिन ।

अभिनेता जितु नेपालले साम्पाङलाई परिस्थितिले बनाएको रियल हिरोको उपमा दिंदै सिनेमाको प्रिमियर र ‘मुन्द्रेको कमेडी क्लब’ सिजन ३ मा आतित्यथा ग्रहणको निम्तो दिए ।

बिहिबारै निर्देशक मिलन चाम्स, क्याप्टेन/कलाकार विजय लामालगायतको टिमपनि मेयर साम्पाङलाई भेट्न श्रम संस्कृति पुगेका थिए ।

भेटघाटको दौरान चाम्स र थापाले ‘ह्यारीकी प्यारी’ टिमलाई सफलताको शुभकामना दिंदै दर्शकलाई सिनेमा हेरिदिन आग्रह गरेका थिए ।

अनौपचारिक कार्यक्रममा बोल्दै मेयर साम्पाङले राम्रो उपहार प्रदान गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै सिनेमालाई सफलताको शुभकामना दिए । साथै साम्पाङले श्रमदानले गर्दा नै आफुले खानेपानीको योजनालाई समय मै पूर्णता दिएको बताए ।

उनले श्रमदानले बिकास, समाज र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए ।

उक्त भेटघाटमा मोडल एलिसा राई, कलाकार रेखा फागो र निर्देशक जनकदीप पराजुलीपनि उपस्थित थिए ।

जितु, साम्राज्ञी र विजयसहित लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको अभिनय रहेको ‘ह्यारीकी प्यारी’ माघ २० देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

नेपालीसंगै हिन्दी, मराठी र बंगाली भाषामा निर्माण गरिएको सिनेमा नेपाल रिलिजपछि अन्य देशमा प्रदर्शन हुनेछ ।

निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।

सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।