रामबाबुले निर्देशन गर्ने ‘डिग्री माइला’मा दयाहाङ, दुईबीच १५औं सहकार्य

रामबाबुले निर्देशन गर्ने ‘डिग्री माइला’मा दयाहाङ, दुईबीच १५औं सहकार्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले नयाँ सिनेमा ‘डिग्री माइला’ निर्देशन गर्ने भएका छन् ।

मण्डला थियटरमा तीन पटक मन्चन भैसकेको नाटक ‘डिग्री माइला’मा आधारित भएर सिनेमा निर्माण हुनेछ । अभिनेता दयाहाङ राईले परिकल्पना एवं निर्देशन गरेको नाटक पहिलो पटक २०६९ साल फागुनमा मन्चन भएको थियो ।

बाँसुरी फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमामा दयाहाङ राई, पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरेलगायतको अभिनय हुनेछ ।

आगामी बैशाखदेखि छायांकनमा जाने सिनेमाले चलचित्र बिकास बोर्डबाट निर्माण इजाजतपनि लिइसकेको छ ।

कमेडी जनरामा निर्माण हुने सिनेमाले शैक्षिक बेरोजगारीको कथा भन्छ । पात्रसंग स्नातकोत्तरको प्रमाणपत्र भएरपनि व्यवहारमा उतार्न नसक्नुलाई सिनेमाले व्यंग्य गर्छ ।

चाँडै नै अभिनेत्रीको टुंगो लाग्ने सिनेमालाई २०८० सालको दशैँमा रिलिज गर्ने निर्माण पक्षको योजना रहेको छ ।

रामबाबुकै पटकथा रहने सिनेमाको लागि छायांकन क्षेत्र तय हुने प्रक्रियामा रहेका छन् ।

रामबाबु र दयाहाङको १५ औं सहकार्य

‘डिग्री माइला’को घोषणासंगै दयाहाङ र रामबाबुको सिनेमामा १५ औं पटक सहकार्य पक्का भएको छ ।

रामबाबु निर्देशित सिनेमा ‘कबड्डी’सहित ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’, ‘मिस्टर झोले’, ‘साइँली’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘सेन्टी भाइरस’, ‘कबड्डी ४’, ‘फुलबारी’ र ‘डिग्री माइला’मा दयाहाङ अभिनेताको रुपमा जोडिएका छन् ।

यस्तै दयाहाङ अभिनित ‘घामपानी’ र ‘दयारानी’मा रामबाबुले कार्यकारी निर्माताको रुपमा थिए । भने ‘माछा माछा’ यो लोकप्रिय जोडीले निर्माताको भूमिका निभाएका थिए ।

दयाहाङ अभिनित अन्य सिनेमा ‘झुम्की’ र ‘तान्द्रो’मा रामबाबुको लेखन थियो । ‘तान्द्रो’मा निर्देशक गुरुङले अभिनयपनि गरेका थिए ।

फागुन ५ मा रिलिज हुँदै ‘फूलबारी’

दयाहाङको अभिनय र रामबाबुको निर्देशन रहेको सिनेमा ‘कबड्डी ४’ले यस वर्षको सुरुवातमा सर्वाधिक व्यापारको रेकर्ड राख्न सफल भयो ।

अब यो जोडी सामाजिक कथामा आधारित सिनेमा ‘फूलबारी’ लिएर फागुनमा दर्शक माँझ पुग्दैछन ।

रामबाबु निर्देशित ‘फूलबारी’मा दयाहाङसंगै विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाललगायतका कलाकारहरुको अभिनय छ ।