अमेरिका, भारत र इजरायललाई उछिन्दै ऋचाले उचालिन उत्कृष्ट अभिनेत्रीको अवार्ड

अमेरिका, भारत र इजरायललाई उछिन्दै ऋचाले उचालिन उत्कृष्ट अभिनेत्रीको अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ऋचा शर्माले अस्ट्रेलियामा सम्पन्न ‘टाइटान फिल्म फेस्टिभल’मा वर्ष कै उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

अस्ट्रेलियाको प्रतिष्ठित फेस्टिभलमा ऋचाले आफु अभिनित सर्ट सिनेमा ‘ब्लड मनी’बाट अवार्ड जित्न सफल भएकी हुन् । सिनेमामा ऋचाले वैदेशिक रोजगारमा गएका एक युवकको पत्नीको भूमिका निर्वाह गरेकी छन् ।

२०२२ संस्करणको तेस्रो त्रैमासिकको प्रतिस्पर्धामा ऋचाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दै वार्षिकी अवार्डको लागि स्वत: मनोनयनमा परेकी थिइन् ।

उनले अन्तिम प्रतिस्पर्धामा इजरायलकी शिरा फरबर, अमेरिकाकी केटी ओ’निल र भारतकी तनिष्ठा चटर्जीलाई पछाडी पार्दै पहिलो अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भइन । यो वर्ष सय भन्दा बढी सिनेमा प्रतिस्पर्धामा थिए ।

हाल अस्ट्रेलियामा रहेकी ऋचा अवार्डसहित बुधबार नेपाल फिर्दै छिन् ।

उक्त फेस्टिभलमा वर्षको उत्कृष्ट सिनेमाको अवार्ड नर्वेको ‘लंग फ्ल्याट बल्स: ब्रोकन प्रमिसेस’ले जितेको छ ।

भने उत्कृष्ट अभिनेताको अवार्ड सिनेमा ‘स्कारपेडिसेमेन्टे’बाट क्यानडाका जोन वामवासले जित्न सफल भए ।

अशोक तिमल्सिनाको लेखन तथा निर्देशन रहेको ‘ब्लड मनी’ले पारिवारिक अवस्थाले विदेशिएका युवाले परिवारको खुसीका लागि आफ्नो ज्यान साटेको कथा वाचन गर्छ ।

फेस्टिभलमा ‘ब्लड मनी’को कथाबस्तुबारे चर्चा भएको र आगन्तुकले चासोका साथ सिनेमा हेरेको निर्देशक तिमल्सिनाले बताए ।

यसअघि यो सिनेमाले विश्वका बिभिन्न फेस्टिभलमा उत्कृष्ट सिनेमाको अवार्ड जितिसकेको छ ।

सिंगापुरको वर्ल्ड फिल्म कार्निभल, व्हाइट पर्ल इन्टरनेशनल फिल्म फेस्टिभल र अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट सर्ट सिनेमाको अवार्ड जितेको सिनेमा थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोटपनि भएको छ ।

२७.४२ मिनेट लामो सिनेमामा ऋचासंगै मिथिला शर्मा, अशोक तिमल्सिना, मार्क एन्थोनी नुन्नरी, पारस तिमल्सिना, सौरभ पौडेललगायतका कलाकारहरुको अभिनय छ ।

पारस तिमल्सिनाले निर्माण गरेको सिनेमामा एलिश कार्कीको ब्याकग्राउण्ड म्युजिक र शाहील खानको सम्पादन रहेको छ । सनिश श्रेष्ठले नेपाल र सुरेश गिरीले विदेशमा सिनेमाको छायांकन गरेका छन् ।