सिनेमा छायांकनको लागि रोल्पा ‘भर्जिन ल्याण्ड’ – बृहत चलचित्र बहस

सिनेमा छायांकनको लागि रोल्पा ‘भर्जिन ल्याण्ड’ – बृहत चलचित्र बहस

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा सम्पन्न ‘बृहत चलचित्र बहस’ले रोल्पा सिनेमा छायांकनको लागि उपयुक्त गन्तव्य रहेको निष्कर्ष निकालेको छ ।

शनिबार परिवर्तन गाउँपालिका राङ्सीको डाँडागाउँमा सम्पन्न बहसमा अधिकांसले रोल्पा सिनेमा छायांकनको लागि उपयुक्त रहेको धारणा व्यक्त गरे ।

निर्देशक ऋषिराज आचार्यले रोल्पा छायांकनका लागि उपयुक्त गन्तव्य भएपनि भौगोलिक विकटता र केन्द्रदेखि टाढा रहेकाले सिनेकर्मीको नजर नपरेको बताए । सरकारले केहि लगानी गरिदिए आफुपनि रोल्पामा सिनेमा छायांकन गर्न तयार रहेकोसमेत उनले बताए ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय पुर्व अध्यक्ष शान्ति प्रियले वर्तमानमा नेपाली कथाका लागि छायांकन स्थल भेट्टाउन मुस्किल परिरहेको बेला रोल्पा उपयुक्त रहेको बताए ।

‘फिल्मको कथावस्तु अनुसारका छायांकनस्थल पर्न सकेको छैन् ।’ शान्तिले भने ‘रोल्पाजस्तो सुन्दर ठाउँ अब सिनेकर्मीको नजरमा पर्नुपर्छ, यसका लागि सिनेकर्मी र सरकार दुवैको ध्यान पुग्न आवश्यक छ ।’

अभिनेता रमित ढुंगानाले राजनीतिक, धार्मिक, पर्यटकीय तथा साँस्कृतिक हिसाबले परिचित रोल्पा नेपाली सिनेमाको कथामा पर्न नसकेको बताए ।

परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले रोल्पा सिनेमाको पर्दामा नसमेटिनुमा समन्वयको अभाव रहेको बताए ।

रोल्पा सिनेकर्मीको नजरमा परिदिए त्यहाँ छायांकन गर्ने सिनेकर्मीलाई सबै पालिकाको समन्वयमा आवश्यक बजेट व्यवस्थापन गर्न सकिने अध्यक्ष मगरले बताए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि र सिनेकर्मीले रोल्पा सिनेमा छायांकनका लागि ‘भर्जिन ल्याण्ड’ रहेको धारणा व्यक्त गरेका थिए ।

चलचित्र पत्रकार संघ नेपाल दाङका शिव पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका वडा नम्बर २ को सह-आयोजना तथा पालिकाको सहयोग थियो ।

परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न झाँकी समूह, आमा समूह, बाजा समूह, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार, साहित्यकार, समाजसेवी, बुद्धिजीवी लगाएतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका उपाध्यक्ष सन्तोष केसी र बहस कार्यक्रमको सहजीकरण पत्रकार बसन्त विवस आचार्यले गरेका थिए ।