अमेरिकी राजदूतद्धारा किरणभक्तको थ्रीडी एनिमेसन सिकाउने एकेडेमीको भ्रमण

अमेरिकी राजदूतद्धारा किरणभक्तको थ्रीडी एनिमेसन सिकाउने एकेडेमीको भ्रमण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालबाट हलिउड लगायत विश्वका ठूला उद्योगका सिनेमामा काम गरिरहेको ‘इनसेसेन्ट रेन फिल्म स्टुडियो’का संस्थापक किरणभक्त जोशीले ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु गरेका छन् । सोमबार उद्घाटन भएको एकेडेमीमा भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, सिनेमा निर्माण, ग्राफिक्स डेभलपमेन्ट तथा एप डेभलपमेन्टका कक्षा सञ्चालन हुने किरणभक्तले जानकारी दिए ।

उनले डेभ डटकमका संस्थापक पारस चित्रकार र नेपाली प्राईभेट ईक्विटी कम्पनी टिएनए एसोसिएट्ससँग सहकार्यमा एकेडेमी सञ्चालन गरेका हुन् । उद्घाटन कार्यक्रममा युनेस्कोका कार्यालय प्रमुख तथा नेपाल प्रतिनिधि माइकल क्रफ्ट उपस्थित थिए । एकेडेमीले युवा नेपालीलाई ठूलो अवसर दिने र यसले नेपाली सिनेमा उद्योगमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, बिहीबार नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले एकेडेमीको भ्रमण गरेका छन् । त्यस अवसरमा थम्पसनले नेपालका कलाकारहरुको लागि एकेडेमीले राम्रो जीवनयापन र अवसर सिर्जना गर्ने बताए । थम्पसनले एकेडेमीमा अध्ययनरत विद्यार्थीसँग पनि केही समय कुराकानी गरेका थिए । साथै, उनले छाउनीस्थित ‘इनसेसेन्ट रेन फिल्म स्टुडियो’को समेत भ्रमण गरे ।

जोशीले ‘मुभिङ माउन्टेन्स स् द अवेकनिङ’ नामक वृत्तचित्रको निर्माण र सह-निर्देशन पनि गरेका छन् । किरणभक्त जोशी एक टेलिभिजन तथा सिनेमा निर्देशक, निर्माता र एनिमेसन एवं भिजुअल इफेक्ट विज्ञ हुन् । उनले सन् १९९१ मा अमेरिकाको चर्चित वाल्ट डिज्नी स्टुडियोमा कम्प्यूटर एनिमेशन प्रोडक्शन सिस्टममा काम गरेका थिए । जसका कारण उनको एनिमेशनमा करिअर बन्यो ।