चलचित्र पत्रकार संघ नेपालको दुई दिने कार्यशाला सम्पन्न, सय बढी पत्रकार सहभागी

चलचित्र पत्रकार संघ नेपालको दुई दिने कार्यशाला सम्पन्न, सय बढी पत्रकार सहभागी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शिर्षकमा दुई दिने कार्यशाला सम्पन्न भएको छ ।

राजधानीस्थित चलचित्र बिकास बोर्डको हलमा शुक्रबार र शनिबार संचालित कार्यशालामा देशभरका सय बढी चलचित्र पत्रकारले सहभागिता जनाए ।

कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिता र वरिष्ठ पत्रकार कृष्ण भट्टराईले समाचार लेखन शैली/सिने पत्रकारिताको इतिहासको सम्बन्धि कक्षा संचालन गरेका थिए ।

वरिष्ठ संचारकर्मी तथा सिनेमा निर्देशक प्रकाश सायमीले विश्व सिनेमाको इतिहास, वरिष्ठ फोटोपत्रकार विकास रौनियारले सिने फोटोपताकारिता र वरिष्ठ पत्रकार विष्णु घिमिरे (कल्पित)ले दृश्यभाषा/कथ्यशैली विषयमा प्रशिक्षण दिए ।

यस्तै वरिष्ठ पत्रकार नरेश भट्टराईले प्रस्तोता कार्य र महत्वको बारेमा जानकारी दिए । कार्यशालामा वरिष्ठ पत्रकार शान्तिप्रिय, विदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले चलचित्र पत्रकारिताको महत्वबारे चर्चा गरेका थिए ।

पछिल्लो समय चलचित्र पत्रकारितामा देखिएका समस्याहरु स्वनियमन गर्न मद्धत गर्ने भएकाले यस किसिमका कार्यशालाले पत्रकारितामा प्रभाव पार्ने प्रशिक्षक झविन्द्र भुसालले बताए ।

प्रशिक्षक प्रकाश सायमीले सिनेमा समिक्षाको लागि सिनेमा बुझ आवश्यक रहेको र परिवर्तन भैरहेको कथ्यशैलीप्रति चनाखो हुनु पर्ने बताए ।

फोटोपत्रकार बिकास रौनियारले चलचित्र पत्रकारितामा फोटोको प्रमुख भूमिका हुने भन्दै यसका आधारभूत मापदण्डहरु पालना गर्नु पर्ने बताए ।

समापन कार्यक्रममा प्रमुख अतिथि रहेका चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीले सत्यतथ्य पत्रकारिताले सिनेमा क्षेत्रको समस्यालाई उजागर गर्ने र नेपाली सिनेमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नमा सहयोग पुग्ने बताए ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले कार्यशालामा सिकेका कुराले पत्रकारिता कर्म गर्न सहयोगी भूमिका खेल्ने विश्वास लिएको बताए ।

‘सिकाईको पूर्णविराम हुँदैन । यो निरन्तर चल्ने क्रम हो । हामीले छोटो अवधिमा पनि सकेसम्म धेरै बिषयमा ज्ञान र सिप प्राप्ती होस् भन्ने उद्देश्य राखेका थियौँ । जसमा हामी सफल भएका छौँ ।’ सिटौलाले भने, ‘संघको सैद्धान्तिक मुल्य मान्यतालाई आत्मसात गर्दै र डिजिटल प्रविधिको भरपुर प्रयोगमा अबको पत्रकारिता अघि बढ्छ भन्ने विश्वास लिएका छौँ ।’