मोफसलमा ‘फूलबारी’ टिम, पाँच सहरमा दर्शक भेट्ने

मोफसलमा ‘फूलबारी’ टिम, पाँच सहरमा दर्शक भेट्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने मल्टिस्टारर सिनेमा ‘फूलबारी’ले देश दौडाहा सुरु गरेको छ ।

प्रदर्शन मिति नजिकिंदै गर्दा रामबाबु गुरुङ निर्देशित सिनेमाको टिम दर्शक र मिडिया अन्तरक्रियाको लागि मोफसल हानिएको हो ।

पश्चिम नेपालको बुटवलबाट सुरु भएको मोफसल यात्रा पोखराहुँदै भरतपुर, इटहरी हुँदै विर्तामोडमा पुगेर सम्पन्न हुनेछ ।

पीभीइले व्यवस्थापन गरेको मोफसल यात्रामा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, कालीप्रसाद बाँस्कोटा, मनिष ढकाललगायतका कलाकर्मी सहभागी छन् ।

यात्राको पहिलो दिन शुक्रबार ‘फूलबारी’ टिमले बुटवलमा कलेज क्याम्पियन, पब्लिक इभेन्ट, मिट एण्ड ग्रिट र प्रेसमिटका कार्यक्रम गर्यो । बुटवलमा दर्शकको राम्रो साथ् पाउँदा निर्माण पक्ष उत्साहित देखिएको छ ।

मणिमुकुन्द, सिद्धार्थ गौतम, न्यु होराइजन र कुँवरवर्ती कलेजमा विद्यार्थीले कलाकारहरुसंग फोटो खिचे । सिनेमाको व्यानर उचालेर प्रचारमा सहयोग पुर्याएका थिए ।

सिनेमाका कलाकारहरुले दर्शकसंग अन्तरक्रिया गर्दा संगीतकार एवं गायक कालीप्रसाद बाँस्कोटाले ‘माया रैछ र’को बोलको गीत गाएर मनोरंजन दिए ।

सिनेमाका निर्माता मनिष ढकालका अनुसार सहरको जनसंख्याका आधारमा प्रचारका लागि कलेज चयन हुनेछन् । ‘नेपाली सिनेमाको इतिहासमा पहिलोपटक ठूलो संख्यामा कलाकारलाई प्रचारप्रसार अभियानमा सहभागी गराउँदै प्रमोसनलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्नेछौं,’ ढकालले भने ।

आइतबार सिनेमाको टिम पोखरामा छ । मंगलबार भरतपुर, बिहिबार इटहरी र शुक्रबार विर्तामोड यात्रा गर्ने टिमले सेड्युल निकालेको छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमामा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

कमल किशोर मलपानीको कन्सेप्टमा निर्माण सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

सिनेमामा समावेश ‘माया रैछ र’ बोलको गीत यतिबेला चार्टबस्टर हिट हुँदै गएको छ ।