नेपाल सर्ट फिल्म प्रतिस्पर्धाको विजेताले २ लाख पाउने

नेपाल सर्ट फिल्म प्रतिस्पर्धाको विजेताले २ लाख पाउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको आयोजनामा ‘नेपाल सर्ट फिल्म’ प्रतिस्पर्धा हुने भएको छ । बिहिबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक प्रेसमिटमा प्रतियोगिताको बारेमा जानकारी दिइयो ।

नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका सिनेकर्मीको लागि यो प्रतियोगिता गतिलो माध्यम बन्ने विश्वास व्यक्त गरे ।

‘फिचर सिनेमा निर्माण निकै महंगो हुने गर्छ तर सर्ट सिनेमा थोरै पैसामा पनि बनाउन सकिन्छ । तर हामीले पैसा छैन तर कथा छ भने निर्माणमा हातेमालो गर्न तयार छौँ भन्ने सन्देश दिन यो प्रतिस्पर्धा आयोजना गरेका हौँ ।’ उनले प्रष्ट पारे ।

सांगीतिक क्षेत्रमा ख्याति कमाएको म्युजिकका प्रतिनिधि राजीव लोहनीले सिनेमा क्षेत्रमा केहि योगदान दिने भन्ने हेतुले प्रतिस्पर्धाको लागि हातेमालो गरिएको बताए ।

‘म्युजिक नेपालले नेपाली संगीत क्षेत्रमा गरेको योगदान सर्व विदित छ । हामी दायरा फराकिलो पार्दै सिनेकर्मीसँग काम गर्न इच्छुक छौँ । यो एउटा सुरुवात हो ।’ लोहनीले भने ।

प्रतिस्पर्धाका निर्णायक मध्येका एक अनुप बरालले सर्ट सिनेमालाई सानो बिरुवाको रुपमा व्याख्या गर्छन । ‘सर्ट सिनेमा बेर्ना हो । यही बेर्ना ठूलो भएर रुख बन्छ र फल दिन्छ । सिनेकर्मीका लागि पनि लघु सिनेमा यस्तै बेर्ना हो । सानो चिज बनाउन झन् ठूलो मेहनत पर्छ तर सानो चिजकै सामर्थ्य ठूलो हुन्छ ।’ उनले भने ।

बरालले स्टिभन स्पिलवर्गको लघु सिनेमा ‘एम्बलिन’को उदाहरण दिँदै उनले विश्वका महान् निर्देशकले पनि लघु सिनेमा निर्माण गरेर फिचर सिनेमाका लागि अनुभव बटुलेको दृष्टान्त दिएका थिए ।

अनुपसंगै प्रतिस्पर्धामा निर्देशक सुजित बिडारी र अभिनेत्री सुरक्षा पन्तपनि निर्णायकको भूमिकामा रहनेछन ।

निर्देशक बिडारीले यस्ता प्रतिस्पर्धाको कति महत्व हुन्छ भन्नेमा आफू भुक्तभोगी भएको र भिज्युअल लिट्रेसी निर्माणमा ठुलो योगदान राख्ने धारणा व्यक्त गरे ।

अभिनेत्री पन्तले सिनेमा कलेजले पढाउनु मात्र दायित्व नरहेको र यस्ता कार्यक्रम पढाई जाच्ने अवसर हुने बताइन । ‘अर्को महत्वपूर्ण कुरा मलाई पनि धेरैले मसँग कथा छ के गरौँ भनेर पनि मेसेज गरिरहनु भएको हुन्छ । अब यता पठाउनुस् भन्न सजिलो भयो ।’ सुरक्षाले भनिन ।

कसरी हुने सहभागी ?

यस सर्ट फिल्म प्रतिस्पर्धामा सहभागी हुन् चाहने इच्छुकले फागुन ३० सम्म आफ्नो कथासार बुझाउनु पर्नेछ । भने चैत १७ सम्म स्क्रिप्ट बुझाउने समयसिमा निर्धारण गरिएको छ ।

प्राप्त स्क्रिप्टलाई निर्णायकद्वारा ३ दिने प्रशिक्षण दिइनेछ । त्यसपश्चात पुनर्लेखन गरिएका स्क्रिप्ट मध्येबाट उत्कृष्ट १० छानेर निर्माण सहायता प्रदान गरिनेछ । छानिएका १० सिनेमाले निर्माणका लागि ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस प्रक्रियाद्वारा प्रतिस्पर्धामा आएका सिनेमा मध्ये पहिलो हुनेले २ लाख नगद प्राप्त गर्नेछन् । बाँकी अन्यको लागि विधागत रुपमा नगद पुरस्कार व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार उत्कृष्ट स्क्रिप्ट, निर्देशन, अभिनय, छायांकन, सम्पादन र ध्वनिले समान ५० हजार रुपैयाँका दरले पुरस्कार जित्नेछन् ।