जितुका पछिल्ला ७ मा ६ सुपरहिट, के होला ‘ह्यारीकी प्यारी’ ?

जितुका पछिल्ला ७ मा ६ सुपरहिट, के होला ‘ह्यारीकी प्यारी’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जितु नेपाल हास्य कलाकार । नामै काफी छ । नेपाली मनोरंजन क्षेत्रमा जितुले मनोरंजन दिन लागेको दुई दशक बढी भैसक्यो ।

स्टेज कार्यक्रम, टेलिभिजन कार्यक्रम र सिनेमामा जितु व्यस्त रहन्छन । पछिल्लो समय जितुले दीपक-दीपा क्याम्पबाट निर्माण हुने सिनेमा धेरै खेले । त्यसभन्दा बाहिर जितुले निर्देशक सुदर्शन थापाको ‘रामकहानी’मा पनि अभिनय गर्न भ्याए ।

यस्तै, पछिल्लो पटक दीपक-दीपा क्याम्प भन्दा बाहिरको सिनेमा ‘ह्यारीकी प्यारी’मा मुख्य भूमिकामा अभिनय गरेका छन् । उनको यो करिअरको पहिलो मुख्य भुमिकामा अभिनय गरेको सिनेमा हो । यसपटक जितुको काँधमा सिनेमा अडेको छ । साथै सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अभिनय छ ।

आगामी शुक्रबार अर्थात माघ २० बाट रिलिज हुने सिनेमामा जितु र साम्राज्ञीको रोमान्स र कमेडीको समिश्रण हेर्न पाइनेछ । पर्दामा यी दुईको जोडी हेर्न पक्कै पनि रोचक हुनेछ । साम्राज्ञीको करिअरको पहिलो रोमान्टिक कमेडी सिनेमा भएका कारण आफुले नयाँ उचाई पाउने विश्वास लिएकी छन् ।

जितु आफैपनि सिनेमालाई लिएर उत्साहित छन् । सिनेमाको कन्टेन्ट बलियो बताउने जितुले आफ्नो कम्फर्ट जोन भन्दा बाहिर रहेर अभिनय गरेका छन् । जितुका पछिल्ला ७ रिलिजमा ६ सिनेमा सुपरहिट भएका छन् । एउटा सिनेमाले बक्सअफिसमा औसत व्यापार गर्यो ।

‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’, ‘छक्का पन्जा ३’ र ‘छ माया छपक्कै’ले सुपरहिटको व्यापार गर्दा ‘रामकहानी’ भने औसत रह्यो । ‘ह्यारीकी प्यारी’ सफल भएमा उनको हिट सिनेमाको अनुपात बढ्नेछ । यो सिनेमा आफ्नो करिअरको लागि विशेष परिक्षा रहेको उनले बताइसकेका छन् ।

जितु यतिबेला सिनेमा प्रचारको दौडधुपमा छन् । साता अगाडी मात्रै देश दौडाहामा सामेल भएका जितु आफ्नो मिहेनतले सार्थकता पाउनेमा आशावादी छन् । डा. कपिल रिजालको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमामा जितु र साम्राज्ञीसंगै विजय बराल, लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाल लगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ । सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।