प्रिमियरमा ‘ह्यारीकी प्यारी’लाई उत्कृष्ट प्रतिक्रिया (कसले के भने ?)

प्रिमियरमा ‘ह्यारीकी प्यारी’लाई उत्कृष्ट प्रतिक्रिया (कसले के भने ?)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार अर्थात माघ २० देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘ह्यारीकी प्यारी’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ ।

मंगलबार राजधानीको बिग मुभिज हलमा सम्पन्न भव्य प्रिमियर सिनेकर्मी, पत्रकार र पाहुनाले खचाखच रह्यो ।

डा. कपिल रिजालको डेब्यु निर्देशनमा बनेको सिनेमा हेर्ने जतिले उत्कृष्ट भने । विशेषगरि सिनेमाको कथाबस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको तारिफ भयो ।

बेलुका सम्पन्न प्रिमियरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले सबैको ध्यान केन्द्रित गरिन । सेतो पहिरणमा उनि बोल्ड देखिएकी थिइन् ।

सिनेमामा साम्राज्ञीसंगै जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाल लगायतका कलाकारहरुको अभिनय छ ।

कसले के भने प्रिमियरमा ?

मदनकृष्ण श्रेष्ठ (वरिष्ठ कलाकार)

आफुले कल्पनै नगरेको कथा पाएँ । कथा सरसर्ती अगाडी बढेको छ । एकछिनपनि आँखा झिमिक्क हुन दिंदैन । जितुलाई हिरोमा सुहाएको छ । निर्देशक रिजालको काम उत्कृष्ट छ ।

सन्तोष पन्त (वरिष्ठ कलाकार)

निर्देशक कपिल रिजाल जीले एउटा मनले चाहेको सिनेमा बनाउनु भएको छ । सिनेमामा सुगठित शरीर भएको हिरो होइन मनको हिरो हुनुपर्छ भन्ने निर्देशकको परिकल्पना राम्रो लाग्यो । जितुको अभिनय राम्रो पाएँ । साम्राज्ञीले आफ्नो अभिनय निखारेको पाएँ । सिनेमामा सुरुको दृश्यदेखि लिएर अन्तिमसम्म साम्राज्ञीको अभिनयमा विविधता पाएँ । एकदमै उत्कृष्ट सिनेमा । एकपटक हेरिदिनु होला ।

रमेश उप्रेती (अभिनेता)

जितुलाई बधाई दिन चाहन्छु । एकदमै राम्रो अभिनय गर्नु भएको छ । पटकथा उत्कृष्ट लाग्यो । समसामयिक लाग्यो विषयबस्तु । संदेशसहितको मनोरन्जनात्मक सिनेमा बनेको छ ।

केदार घिमिरे (हास्यकलाकार)

रमाइलो र उत्कृष्ट सिनेमा लाग्यो । बीचबीचमा भावुकपनि बनायो । लेखन, अभिनय र निर्देशन पक्ष राम्रो लाग्यो । निर्देशक ज्यूलाई बधाई भन्न चाहन्छु ।

दीपाश्री निरौला (निर्देशक/कलाकार)

जितुको अभिनयको पहिलेदेखि फ्यान थिएँ । ‘ह्यारीकी प्यारी’मा उसले प्रमाणित गरेको छ । उसको अभिनयले आँखाबाट आँशु झारेको पत्तै भएन । साम्राज्ञीको पनि अभिनय राम्रो लाग्यो । यस्ता उत्कृष्ट सिनेमा बन्दा यसले यस क्षेत्रको जरा बलियो बनाउछ । ‘ह्यारीकी प्यारी’ दर्शकको प्यारो हुनेमा विश्वस्त छु ।

आकाश अधिकारी (निर्देशक/कलाकार)

धेरैपछि मन छुने लभस्टोरी हेर्न पाउँदा मनैदेखि दंग छु । कपिल, जितु र साम्राज्ञी जीले एउटा पृथक लभस्टोरी पस्किनु भएको छ । टिमलाई सफलताको शुभकामना ।

किरण केसी (हास्यकलाकार/निर्माता)

जितुले लिडमा सिनेमा खेल्दैछ भन्दा एकदमै डर लाग्या थ्यो । अहिले सिनेमा हेर्दा डर मुक्त भएँ । एकदमै राम्रो अभिनय जितुको । निर्देशकले सानो सानो कुरा ध्यान पुर्याउनु भएको छ । कपिल रिजाल यो क्षेत्रको आवश्यकता हो । मेरो लागि ‘ह्यारीकी प्यारी’ ९९.९९ प्रतिशत उत्कृष्ट छ ।

यसकुमार (गायक)

अपेक्षा गरेभन्दा धेरै माथि पाएँ यो सिनेमा । डा. भोला रिजालको छोरा डा. कपिल रिजालले यस किसिमको शृजना गरेर हाम्रो मन जित्नु हुन्छ भन्ने कल्पनापनि गरेको थिएन । म भन्न चाहन्छु नेपाली सिनेमा क्षेत्रले एउटा उत्कृष्ट र अनुभवी निर्देशक पाएको छ । छायांकार सुदीप बरालको खिचाई राम्रो छ । जितु र साम्राज्ञीको अभिनयपनि उत्कृष्ट पाएँ । निर्माण पक्षलाई बधाई तथा शुभकामना ।

शिवहरी पौड्याल (हास्यकलाकार)

सिनेमा क्षेत्रले खास जोडी भेट्टाए जस्तो लाग्यो । साम्राज्ञी र जितुको जोडी एकदमै सुहाएको छ । विषयबस्तुपनि फरक रहेछ । निर्देशक काम डेब्यु जस्तो लागेन । परिपक्कता पाएँ । जितुको भावुक अभिनय मज्जाको छ । साम्राज्ञीलाई फरक अभिनयमा पाएँ । सबैले हेरिदिनुस ‘ह्यारीकी प्यारी’ ।

प्रकाश सुवेदी (संचारकर्मी)

पहिलो पटक एउटा सरसर्ती बगेको कथानक सिनेमा हेर्न पाइयो । जितु नेपाललाई हेरिरहँदा संजीव कुमारको याद आयो । साम्राज्ञीको भूमिका सुहाउने लाग्यो । कपिल रिजाल एउटा राम्रो निर्देशक र निर्माताको रुपमा देखा पर्नु भएको छ । आशा गरौँ सिनेमालाई दर्शकको साथ मिल्नेछ ।

हिमेश पन्त (हास्यकलाकार)

सिनेमा एकदमै राम्रो छ । दोस्रो हाफ अझै चुस्त लाग्यो । सन्देशसहितको सिचुएस्नल कमेडी लाग्यो । मनोरंजनको फुल प्याकेज छ । जितु दाईको अभिनय सोचेभन्दा उत्कृष्ट पाएँ । सबैलाई हेरिदिनुस भन्न चाहन्छु । नेपाली सिनेमालाई माया गरौँ ।