‘नेपाली सिनेमा फेस्ट’को सम्पुर्ण खर्च बोर्ड आफैले गर्ने, सूर्य कर्पोरेसन व्यवस्थापक मात्र

‘नेपाली सिनेमा फेस्ट’को सम्पुर्ण खर्च बोर्ड आफैले गर्ने, सूर्य कर्पोरेसन व्यवस्थापक मात्र

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अन्र्तगत चलचित्र विकास बोर्डले २०७९ माघ २९ गतेदेखि फागुन ३ सम्म युएईको दुबईमा नेपाल सिनेमा फेस्ट-२०२३ आयोजना लागेको जानकारी दिएको छ । ‘नेपाली सिनेमा र पर्यटनलाई विश्वमाझ लैजाने’ नारासहित सरकारीस्तरबाट हुन लागेको अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको आयोजक चलचित्र विकास बोर्ड हो ।

महोत्सवको प्रमुख उद्देश्य नेपाली सिनेमाको अन्तर्राष्ट्रियकरण र विदेशी बजार विस्तार गर्नु रहेको छ । जसको लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भैसकेको छ । कार्यक्रम सम्पन्न गर्नको लागि प्रमुख खर्चहरु जस्तैः लगभग ४० सहभागिहरुको हवाई टिकट खर्च, भिसा शुल्क, होटल बसोबास खर्च, कार्यक्रम हलमा हुने खर्चहरु बोर्डले सोझै सम्बद्ध निकायलाई भुक्तानी गर्ने बिहिबार बोर्डद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल सिनेमा फेस्टलाई सफल तुल्याउने व्यवस्थापकीय जिम्मा सूर्य कर्पोरेसन प्रालिले लिएको छ । यो कार्यक्रम आयोजना गर्न बोर्डले सूर्य कर्पोरेसनसँग सहकार्य गरेको नभई उसलाई व्यवस्थापकीय जिम्मेवारी मात्र प्रदान गरेको स्पष्ट पार्न चाहन्छौं । यसका लागि बोर्ड र कर्पोरेसनबीच एमओयू सम्झौतामा हस्ताक्षर समेत भैसकेको छ । कर्पोरेसनले प्रस्तुत खर्च बाहेकका अन्य व्यवस्थापकीय जिम्मेवारी लिनेछ । युएईमा कार्यक्रम सम्पन्न गर्न बोर्डले त्यहाँस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, अन्य संस्थाहरु तथा व्यक्तिगतरुपमा पनि समन्वय र सहजीकरण गर्नेछ ।

महोत्सवमा दुई नेपाली सिनेमाहरु ‘ऐना झ्यालको पुतली’ र ‘कबड्डी ४’ प्रदर्शन गरिनेछ । यसवर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको र बुसान फेस्टिभलमा आधिकारिक छनोट भएको कारण नेपाली कथानक सिनेमा ‘ऐना झ्यालको पुतली’लाई प्रदर्शन गर्न लागिएको हो । त्यस्तै, नेपाली सिनेमाको बक्सअफिस इतिहासमा सर्वाधिक ग्रस कलेक्सन गरेको सिनेमा भएको कारण ‘कबड्डी ४’ प्रदर्शन गर्न लागेको हो । प्रदर्शन हुने यी सिनेमालाई युएईस्थित कूटनीतिज्ञ, व्यवसायी, नेपाली समुदाय तथा सिनेमामेकरले हेरेर छलफल चलाउनेछन् ।

२०७९ माघ २९ गते दुबईमा पत्रकार सम्मेलन हुनेछ । साथै सोही दिन ‘कबड्डी ४’को प्रदर्शनी र त्यसपछि निर्माता, निर्देशक र दर्शकबीच अन्तरक्रिया चलाइने भएको छ । फागुन १ गते सहभागीहरुले दुबईमा रहेका छायाङ्कन गन्तव्यहरुको अध्ययन अवलोकन भ्रमण गर्नेछन् । सोही दिन फेस्टको मुख्य कार्यक्रम आयोजना हुनेछ । साथै साँस्कृतिक सांगीतिक प्रस्तुति दिने कार्यक्रम पनि तय गरिएको छ ।

फागुन २ गते नेपाली सिनेमाको बजार विस्तार र अहिलेको वर्तमान अवस्थाको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम हुनेछ । सोही दिन सिनेमा सिटी टूरसहित भेटघाट र छलफल कार्यक्रम पनि हुनेछ । फागुन ३ मा दुबईस्थित स्वदेशी तथा विदेशी सिनेमाकर्मी, लगानीकर्ता, व्यवसायी, गैरआवासीय नेपाली, नेपाली संघसंस्थाका प्रतिनिधिहरुबीच नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन सम्बन्धी बृहत् अन्तरक्रिया हुनेछ ।

सोही दिनमा बोर्डले तयार पारेको गण्डकी प्रदेशको पर्यटन क्षेत्र र छायाङ्कन गन्तव्य सम्बन्धी श्रव्यदृश्य प्रचारसामग्री प्रदर्शन गरिनेछ । श्रव्यदृश्य सहित अन्य प्रचार सामाग्री पनि वितरण हुनेछ । जसले नेपाललाई अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनस्थलको रुपमा परिचित गराउन मद्दत गर्ने विश्वास लिइएको छ । सोही दिनमा अरबी भाषामा सबटाइटल गरिएको नेपाली सिनेमा ‘ऐना झ्यालको पुतली’को प्रदर्शनी र त्यसपछि सिनेमामाथि छलफल समेत हुनेछ ।

कार्यक्रम सफलताका लागि नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन र नेपाल वायुसेवा निगम लिमिटेडले सहयोग गर्नेछन् । साथै उक्त विज्ञप्ती नेपाली सिनेमाकर्मी, विभिन्न सरोकारवाला संघसंस्थाहरु, सम्पूर्ण सञ्चार माध्यमहरु तथा नेपाली सिनेमाप्रेमीलाई कार्यक्रम सफल बनाउन सहयोग गरी नेपाली राष्ट्रिय सिनेमा उद्योगको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्न मद्दत गर्नुहुनेछ भन्ने विश्वास लिएको अपेक्षा व्यक्त गरिएको छ ।