शनिबार ‘ह्यारीकी प्यारी’को हाउसफुल व्यापार, रुचाइयो जितु-साम्राज्ञीको जोडी

शनिबार ‘ह्यारीकी प्यारी’को हाउसफुल व्यापार, रुचाइयो जितु-साम्राज्ञीको जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘ह्यारीकी प्यारी’ले शनिबार नेपाली बक्सअफिसमा हाउसफुलको व्यापार गरेको छ ।

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको पहिलो पटक बाँधिएको जोडी हेर्न शनिबार देशभर दर्शकको चाप देखियो । राजधानीका थुप्रै मल्टिप्लेक्समा सिनेमाले हाउसफुलको व्यापार गर्यो ।

सिनेमा हेरेर निस्किने दर्शकले सिनेमा एकदमै मन परेको प्रतिक्रिया दिएका छन् । अधिकांस दर्शकले जितु-साम्राज्ञीको जोडी रोमाञ्चक लागेको बताएका छन् ।

शुक्रबार सोचेअनुरुपको दर्शक नआएपनि शनिबारको व्यापारले निर्माण टिममा खुसि छाएको छ । शनिबार हल भिजिटका लागि क्युएफएक्स सिभिल मल पुगेका निर्देशक डा. कपिल रिजालले सिनेमाको ‘वर्ड अफ माउथ’ले दर्शक हलसम्म आइपुगेको र भोलिका दिनदेखि ‘मास पब्लिसिटी’ले अझ दर्शक बढ्ने विश्वास व्यक्त गरे ।

‘शनिबारको प्रदर्शन निक्कै राम्रो भयो । शोहरुपनि थपिए । हाउसफुलको व्यापार गरेको छ । सबैतिर सिट रातो देख्दा खुसि लागेको छ । सिनेमाको फरक कथा दर्शकलाई मन परेको छ । उहाँहरुको प्रतिक्रियाले टिमको मिहेनत सफल भएको जस्तो लागेको छ । आगामी दिनमा ‘वर्ड अफ माउथ’ले दर्शक तान्ने आशा छ ।’ निर्देशक रिजालले उत्साहित हुँदै भने ।

साम्राज्ञी र जितुसहित कलाकार विजय बराललेपनि दर्शक प्रतिक्रिया बुझ्न वान सिनेमाज र  क्युएफएक्स दरबार सिनेम्याक्स र सिभिल मलको चक्कर काटेका थिए ।

सिनेमा हेरेपछि ट्रेलरमा पुरै कथा देखायो भन्ने दर्शकहरुको धारणा नै परिवर्तन भएको साम्राज्ञीले बताइन । ‘हामीले ट्रेलरमा धेरै कन्टेन्ट देखाएकै छैनौँ । तर कति दर्शकले पुरै कथा देखायो भन्नेपनि सोच्नु भएको थियो । सिनेमा हेरेपछि उहाँहरुको धारणा नै परिवर्तन भयो । र दर्शकले एकदमै मन पराइदिनु भएको छ । म एकदमै खुसि छु ।’ साम्राज्ञीले भनिन् ।

जितुले आफ्नो र साम्राज्ञीको जोडी मन पराइदिएकोमा धन्यवाद दिंदै कुनैपनि दर्शकले सिनेमा नराम्रो नभनेको बताए ।

‘दर्शकले हाम्रो जोडी एक्स्ट्रा लाग्यो भन्नु भएको छ । हाम्रो चाहनापनि त्यहि थियो । आज हल-हलमा पुग्दा दर्शकको ‘रेस्पोन्स’ एकदम राम्रो छ । म सुरुमै नराम्रो के छ भनेर सोध्छु । सबैको स्वाद फरक फरक हुन्छ । कसैले पछाडीको कसैले अगाडीको भागमा कमजोरी छ भनेपनि कसैलेपनि समग्रमा सिनेमा नराम्रो छ भन्नु भएको छैन । अगाडीको कमेडीमा हास्नु भएको छ । अन्तिमतिर भावकपनि देखें ।’ जितुलेपनि ‘वर्ड अफ माउथ’ले सिनेमा अझै धेरै दर्शक माँझ पुग्न सक्ने आशा व्यक्त गरे ।

अर्का कलाकार विजयले आफुलाई दर्शकले सिनेमाको मेरुदण्ड भनेर प्रशंसा गरिदिएकोमा धन्यवाद व्यक्त गरे ।

शुक्रबार आयोजित विशेष शोमा नेपालकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री बसुन्धरा भुषाल बलिउड/नेपाली अभिनेत्री मनिषा कोइराला, अभिनेता राजेश हमाल, अभिनेत्री करिश्मा मानन्धर, राप्रपा नेता रविन्द्र मिश्र, डा. सुरेन्द्र केसी, डाक्टर चन्दा कार्की, बैंकर अनिल केशरी शाहलगायतले सिनेमा हेरेका थिए । शो पश्चात सबैले सिनेमाको तारिफ गरेका थिए ।

सम्झौताको विवाह गरेका एक जोडीको जीवनमा आउने उतारचढाव रोचक ढंगले बुनिएको सिनेमामा लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।

सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।