सौरभ चौधरी निर्देशित ‘अगस्त्य’मा नाजिर र मलिका अनुबन्धित

सौरभ चौधरी निर्देशित ‘अगस्त्य’मा नाजिर र मलिका अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सौरभ चौधरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘द अनब्रेकेबल : अगस्त्य’मा अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् । सिनेमाको मुख्य भूमिकाको लागि निर्माण टिमले उनीसँग केही समय अगाडी नै लिखित सम्झौता गरेको हो ।

सोमबार पोस्टर सार्वजनिक गर्दै सिनेमामा उनीहरुको अभिनय रहने जानकारी गराइयो । अघिल्लो महिना सिनेमामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए । सौगात, नाजिर र मलिकाको अनुबन्धित भएसँगै सिनेमामा कलाकारको लाइनअप लगभग पुरा भएको छ । यी तीनै जना कलाकारले पहिलो पटक एकअर्कासँग सहकार्य गर्न लागेका हुन् ।

निर्माण टिमले अभिनेत्री मलिका सिनेमामा कसको जोडी बनेर देखिनेछिन् भन्ने खुलाइएको छैन । यी तीन जना कलाकारलाई एकसाथ पर्दामा हेर्न दर्शकलाई पनि रोचक हुने विश्वास निर्देशक चौधरीको छ । सिनेमामा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन् । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । उनले एकसाथ सिनेमको दुई च्याप्टरको कथा तयार पारेका छन् ।

सिनेमालाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्दैछन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुने छ । राजेश श्रेष्ठले सिनेमा खिच्ने जिम्मेवारी पाएका छन् । आगामी बैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको सिनेमाको शीर्षक हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।

सिनेमाका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । सिनेमामा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ । चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ ।