anmol jasita

निर्माताका माग सम्बोधन गर्ने सञ्चारमन्त्री शर्माको आश्वासन

निर्माताका माग सम्बोधन गर्ने सञ्चारमन्त्री शर्माको आश्वासन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली सिनेमा निर्माताहरुको माग सम्बोधन गर्ने आश्वासन दिएकी छन् ।

चलचित्र निर्माता संघका अध्यक्षसहितका पदाधिकारीले केहि दिन अगाडी सम्पन्न ‘राष्ट्रिय भेला’बाट प्राप्त सुझाव लिएर सञ्चार मन्त्रालय पुगेका थिए । चलचित्र क्षेत्र देशको कला, संस्कृति अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने माध्यम भएकाले आफु यस मागप्रति सकारात्मक रहेको मन्त्री शर्माले बताइन ।

उनले चलचित्र क्षेत्रको विकासका लागि सहयोग गर्नम आफु सधैँ तत्पर रहेको र विकासका लागि ऐन ल्याउन तत्काल पहल थाल्ने बताइन ।

विभिन्न १९ बुँदे माग प्रस्तुत गरेकोमा मन्त्री शर्माले सबै माग एकैपटक पूरा गर्न नसकिने भन्दै प्राथमिकताका आधारमा क्रमशः माग पूरा गर्दै जाने आश्वासन दिएकी थिइन् ।

‘सिनेमा क्षेत्रलाई समृद्ध बनाउने ऐन मन्त्रालयले ल्याउँछ’, चलचित्र निर्माता संघको ज्ञापनपत्र बुझ्दै उनले भनिन्, ‘कस्तो ऐन र के नीति नियम बनाउँदा राम्रो हुन्छ । सुझावका आधारमा त्यो हामी बनाउँछौँ ।’

मन्त्री शर्माले सिनेमाको गुणस्तरमा भने निर्माण पक्ष आफैँ जिम्मेवार हुने बताइन् । ‘गुणस्तरीय सिनेमा बनाउने जिम्मेवारी तपाईंहरूको हो । सिनेमामा मिहिनेत तपाईंहरूले गर्नुपर्छ । राम्रो सिनेमा बनाउन सकेका छौं कि छैनौं ? समीक्षा गर्ने समय भइसकेको छ भन्ने मलाई लाग्छ’ मन्त्री शर्मा भन्छिन् ।

युट्युबजस्तै नेपालले छुट्टै डिजिटल हब बनाउने प्रस्ताव आफूलाई सकारात्मक लागेको बताएकी उनले, नेपालाई सिनेमा छायांकनको अन्तर्राष्ट्रिय हब बनाउने चलचित्र टुरिजमका रुपमा नेपाललाई विकास गर्ने प्रस्ताव पनि जायज रहेको उनको भनाइ थियो ।

मागपत्र पेस गर्दै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले हलबाट निर्माताले पहिलो हप्ता ६०, दोस्रो हप्ता ५० र तेस्रो हप्ताबाट ४० प्रतिशत सेयर पाउनु पर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा सिनेमा पनि परेको अवस्थामा राज्यले पाउने सुविधा पाउनु पर्ने, दोस्रो हप्तासम्म हलले निर्मातालाई पैसा दिइसक्नु पर्ने, कम्तीमा वर्षमा हलमा २५० दिन नेपाली सिनेमा अनिवार्य लगाउनु पर्नेलगायत १९ बुँदे माग प्रस्तुत गरेका थिए ।

संघका पूर्व अध्यक्ष आकाश अधिकारीले नेपालले आफ्नै डिजिटल प्लेटफर्म आठदेखि दश करोड रुपैयाँमै बनाउन सक्ने अध्ययनले देखाएको बताए । नेपाली सिनेमा बजार विदेशमा खोजी गर्नु राज्यको पनि दायित्व भएको उनको भनाइ थियो ।