सिनेमा हलविरुद्ध खरो उत्रिदै निर्माता संघ

सिनेमा हलविरुद्ध खरो उत्रिदै निर्माता संघ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र निर्माता संघले आफ्ना माग पूरा गर्न निर्मम रूपमा प्रस्तुत हुने संकेत गरेको छ । आफूहरू लामो समयदेखि समस्यामा परेको तर अब आफ्नो पेसा तथा व्यवसायलाई जोगाउन पनि मौनता तोड्दै माग सम्बोधन गराउने पक्षमा संघ देखिएको छ ।

यसै क्रममा तालुकदार मन्त्रीलाई नै भेटेर संघका पदाधिकारीले आफ्ना माग पूरा गर्न भनेका छन् । आफ्ना माग पूरा नभए आन्दोलन गर्ने यसअघि नै निर्माता संघका अध्यक्ष नवल खड्काले बताइसकेका छन् ।

संघले सञ्चारमन्त्री समक्ष बुझाएको मागमा हलबाट पहिलो हप्ता ६० प्रतिशत सेयर निर्माताले पाउनु पर्ने उल्लेख छ । अहिले निर्माताले पहिलो साता हलसरह ५० प्रतिशत सेयर पाउँदै आएका छन् । दोस्रो हप्ता ५० र तेस्रो हप्ताबाट चलचित्र नउत्रिदासमम ४० प्रतिशत सेयर पाउनु पर्ने निर्माताले अघि सारेको मागमा उल्लेख छ ।

अहिले दोस्रो हप्ता पनि ५० प्रतिशत र तेस्रो हप्तादेखि नउत्रिदासम्म ३५ प्रतिशत सेयर निर्माताले हलबाट पाउँदै आएका छन् ।

नेपाली सिनेमा हलले वर्षमा २५० दिन नेपाली सिनेमा सिनेमा अनिवार्य चलाउनै पर्ने संघको अर्को माग छ । नेपालमा नेपाली सिनेमाले नै प्राथमिकता नपाउनु, उल्टै उपेक्षामा पर्नु आफैमा बिडम्बना भएको भन्दै संघले अब सिनेमा हलले नेपाली सिनेमा कम्तीमा २५० दिन अनिवार्य चलाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

विदेशबाट प्रदर्शनका लागि नेपाल ल्याइने विदेशी भाषी सिनेमाको भन्सार शूल्क तेब्बर बनाउनपनि संघले मन्त्रालय समक्ष माग गरेको छ । २० लाखको चलचित्र ल्याउँदापनि ३० हजार तीन करोडको चलचित्र ल्याउँदापनि ३० हजार भन्सार शुल्क लाग्ने गरेको भन्दै यस बुँदामा संघले मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

केडीएम शुल्क हलले तिर्नु पर्ने, चलचित्रको ट्रेलर निःशुल्क हलमा बजाउनु पर्ने, सिनेमा हल परिसरमा रहने प्रचार सामाग्रीको शुल्क हलले नै बेहोर्नु पर्ने पनि संघको माग छ । यी माग शान्तिपूर्ण रुपमा पूरा नभए धर्ना तथा आन्दोलनमा जाने संघका अध्यक्ष नवल खड्काले यसअघि नै चेतावनी दिइसकेका छन् ।