निर्माता संघको ज्ञापन पत्रप्रति चलचित्र संघको आपत्ति, एक साताको अल्टिमेटम

निर्माता संघको ज्ञापन पत्रप्रति चलचित्र संघको आपत्ति, एक साताको अल्टिमेटम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल चलचित्र संघले आइतबार निर्माता संघले सञ्चारमन्त्री रेखा शर्मालाई भेट गरेर बुझाएको ज्ञापन पत्रको केही बुँदाप्रति आपत्ति जनाएको छ । निर्माता संघको यस्ता क्रियाकलापले कार्यदल, वार्ता र छलफलको औचित्यमाथि प्रश्न चिन्ह खडा भएको चलचित्र संघको बुझाई छ ।

चलचित्र संघका सदस्यलाई विदेशी मुद्रा अपचलन गर्ने, राज्यकोष दोहन गर्ने, हुण्डी कारोबारलाई प्रोत्साहन दिने, आपराधिक कार्यमा संलग्न रहेको जस्तो गम्भीर, आपत्तिजनक, भ्रमपूर्ण र व्यवसायिक नैतिकता विरुद्धको आरोप लगाएको भन्दै महासचिव नरेन्द्र महर्जनले विज्ञप्ती जारी गर्दै निर्माता संघको ज्ञापन पत्रमाथि खेद प्रकट गरेका छन् ।

संघले निर्माता संघको कार्यसमितिलाई एक हप्ताभित्र आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्दै सो समयसम्म सम्पूर्ण वार्ता तथा छलफल स्थगित गरिएको र एक हप्ताभित्र स्पष्ट धारणा नआएमा कार्यदल भंग हुनुका साथै निर्माता संघको वर्तमान नेतृत्व रहँदासम्म कुनै सहकार्य, छलफल र वार्ता नगर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

चलचित्र संघका सदस्यहरुलाई कपोलकल्पित र आपत्तिजनक आरोपसहितको ज्ञापन पत्र वाचन गरी मन्त्रीसमक्ष प्रस्तुत गर्दा उपस्थित भएर कुनै प्रतिक्रिया नजनाएको भन्दै चलचित्र संघले विज्ञप्तिमार्फत् चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र निर्माता संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य आकाश अधिकारीसँग पनि धारणा माग गरेको छ ।

चलचित्र निर्माता संघले हलबाट पहिलो हप्ता ६० प्रतिशत, दोस्रो हप्ता ५० र तेस्रो हप्ताबाट फिल्म नउत्रिँदासम्म ४० प्रतिशत सेयर पाउनु पर्ने माग राखेको छ । यो समस्या समाधान गर्न निर्माता संघ र चलचित्र संघले संयुक्त कार्यदल समेत बनाएका छन् । तर, निर्माता संघले सोमबार सञ्चारमन्त्रीलाई भेटर ज्ञापनपत्र बुझाएपछि दुई संस्थाबीच विवाद सृजना भएको छ ।