‘फूलबारी’मा अहिलेसम्म नदेखिएको पारिवारिक कथा छ – विपिन कार्की

‘फूलबारी’मा अहिलेसम्म नदेखिएको पारिवारिक कथा छ – विपिन कार्की

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विपिन कार्की बहुप्रतिभाशाली अभिनेता हुन् । उनि प्रत्येक सिनेमामा आफुले पाएको चरित्रमा प्राण भर्न कुनै कसर बाँकी राख्दैनन् ।

यस वर्ष रिलिज ‘के घर के डेरा’मा काठमाडौंबासी घरबेटीको चरित्र निभाएका विपिनले आगामी सिनेमा ‘फूलबारी’मा अवकाश प्राप्त शिक्षकको भूमिका निर्वाह गरेका छन् । उनको जोडीको रुपमा अभिनेत्री अरुणा कार्कीले अभिनय गरेकी छन् ।

सिनेमा प्रदर्शन मिति नजिकिएसंगै विपिनसहितको टिम प्रचारमा व्यस्त छ । पहिलेका सिनेमामा झैँ ‘फूलबारी’मापनि आफु विल्कुलै नयाँ भूमिकामा देखिएको र दर्शकलाई निराश नबनाउने विपिन बताउँछन ।

‘जहिले नयाँ कुरा गर्न रुचाउने मान्छे म । यसपटकपनि मैले त्यो चुनौती लिएको छु । अवकाश प्राप्त शिक्षकको भूमिकामा मलाई देख्न सक्नु हुनेछ । मेरो उमेर भन्दा निक्कै बढी उमेरको चरित्र गर्दा केहि अप्ठेरो महशुस भएको थियो । आशा छ सिनेमाले दर्शकलाई भरपूर मनोरंजन दिनेछ ।’ विपिनले आशाको शब्द पोखे ।

विपिन ‘फूलबारी’लाई नेपालमै अहिलेसम्म नदेखिएको पारिवारिक सिनेमा भन्न रुचाउछन ।

‘हामीले पहिले बनिसकेका फ्यामिली ड्रामा भन्दा भिन्न बनाउने कोसिस गरेका छौं । यो नेपालमा अहिलेसम्म नदेखिएको फ्यामिली ड्रामा हो । जहाँ अवकाश प्राप्त शिक्षकको माध्यमबाट कथा भनिएको छ । जयनारायण बुढाको वरिपरि सिनेमाको कथा घुम्छ । अवकाश प्राप्त मान्छेको कथामा खास्सै  सिनेमा बनेजस्तो लाग्दैन । यो कथा हरेक नेपालीको घरघरको कथा हो । यसलाई जुनसुकै परिवारले रिलेट गर्न सक्नु हुन्छ ।’ विपिनले भने ।

विपिन यतिबेला झरना थापाको निर्देशनमा बन्ने सिनेमा ‘भगवत गीता’को छायांकनको तयारीमासमेत जुटेका छन् । उनि अभिनित सिनेमा ‘के घर के डेरा’ले हिटको व्यापार गरेकाले ‘फूलबारी’प्रति बक्सअफिस भरोसा टिकेको छ ।

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमामा विपिन र अरुणासंगै प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

यो सिनेमा महाशिवरात्रीको अवसर पारेर फागुन ५ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।