आयोजकलाई ट्रफी हस्तान्तरण गर्दै अमेरिकामा हुने नेफ्टा अवार्डको घोषणा

आयोजकलाई ट्रफी हस्तान्तरण गर्दै अमेरिकामा हुने नेफ्टा अवार्डको घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेफ्टा फिल्म अवार्डको ११ औं संस्करणको औपचारिक घोषणा गरिएको छ । विहिबार राजधानीको एक पाँचतारे होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले प्राविधिक संघ र नेफ्टा आयोजक पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करणको घोषणा गरेका हुन् ।

नेपाली सिनेमा र संगीतकर्मीको बाक्लो उपस्थिती रहेको समारोहमा अवार्डको आगामी संस्करण अमेरिकाको टेक्सासमा जेठ १३ गते (२७ मे, २०२३) मा आयोजना हुनेछ । आजै नेफ्टा अवार्डको ट्रफी समेत अनावरण गरिएको थियो । अभिनेता श्रेष्ठले ट्रफी नेफ्टा अध्यक्ष पुष्कर लामा र अध्यक्ष लामाले फेम नेपालका बिमल पछाइ र युएस खबरका ओम आचार्यलाई क्रमशः हस्तान्तरण गरे ।

कार्यक्रममा विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान अवार्डले भूमिका खेल्ने बताउँदै सिनेमाको माध्यमबाट भाषा, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्नु आफूहरुको उद्देश्य रहेको बताए । ‘हाम्रो अन्तिम उद्देश्य भनेको भाषा, कला र संस्कृतिलाई विश्वमाझ फैलाउने नै हो’ अध्यक्ष केसीले भने, ‘अन्तर्राष्ट्रियकरणका लागि अवार्ड महत्वपूर्ण कुरा हो ।’

नेपाली सिनेमाको विकास नहुनुमा नयाँ सिनेमा ऐन नबन्नु मुख्य जिम्मेवार रहेको भन्दै त्यस बिषयमा आफुले संचारमन्त्रीसँग छलफल गरिरहेको अध्यक्ष केसीले बताए । नेफ्टा अध्यक्ष लामाले नेफ्टाको उद्देश्य पनि अवार्डमार्फत नेपाली सिनेमालाई अन्तर्राष्ट्रियकरण गर्ने र सिनेमालाई प्रवद्र्धन गर्नु रहेको बताए ।

नेपाल र अमेरिकाबीचको ७५ औं कूटनीतिक सम्बन्ध स्थापनाको छेकोमा गर्न लागिएको अवार्डले दुई मुलुकबीच सांस्कृतिक र देशीय सम्बन्धलाई प्रगाढ बनाउन भूमिका खेल्नसक्ने बताए । ‘हामीले विगतदेखि नै नेफ्टालाई विभिन्न विदेशी मुलुकमा गरिरहेका छौं यसको उद्देश्य नेपाली सिनेमाको अन्तर्राष्ट्रियकरण हो’ अध्यक्ष लामाले भने ।

आयोजक संस्था फेम नेपालका अध्यक्ष बिमल पछाइले नेफ्टा अवार्डमार्फत आफूहरुले हलिउड र बलिउडसँग पनि सहकार्य गरेर संस्कृतिलाई प्रवद्र्धन गर्नु रहेको बताए । अवार्डको सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री विधाको पुरस्कार कुनै एक हलिउड र बलिउड कलाकारले प्रदान गर्ने समेत उनले जनाए । टेक्सासस्थित नेपाली समुदायलाई समेटेर झण्डै २ किलोमिटर लामो नेपाल परेड कार्यक्रममार्फत सांस्कृतिक झाँकी प्रस्तुत गर्न लागिएको उनले जनाए । उक्त परेडमा सातै प्रदेशको संस्कृति र वेभभूषा झल्कने झाँकी प्रस्तुत गर्ने तयारी छ ।

अर्को आयोजक संस्था युएस खबरका ओम आचार्यले नेफ्टाले विगतमा कायम राखेको गरिमालाई जोगाउनु चुनौतिपूर्ण हुने बताए । उनले पनि अवार्ड समारोहमा भारतीय र अमेरिकी सिनेमा उद्योगका हस्तीलाई सहभागि गराउन प्रयास हुने बताए । ‘हामी उनीहरुको कुरा सुन्छौं र नेपाली सिनेमाको कुरा पनि उनीहरुलाई सुनाउँछौं । पर्यटनसँग पनि जोड्छौं’ आचार्यले भने ।

आर्यन फिल्म्सका प्रमुख तथा निर्देशक रमेश एमके पौडेलले सिनेमाको अन्तर्राष्ट्रिय प्रवद्र्धनमै जोड दिए । वरिष्ठ अभिनेत्री बसन्धुरा भुषालले पनि अवार्डलाई सफलताको शुभकामना दिइन् । अवार्डमा २०७९ सालभित्र रिलिज भएका सिनेमाले ४२ वटा विधामा प्रतिस्पर्धा गर्ने जानकारी दिइयो ।

नेफ्टाको घोषणा कार्यक्रममा गायक प्रेमराजा महत, कलाकारहरु चैत्यदेवी, शिव श्रेष्ठ, रविन्द्र खड्का, दीपाश्री निरौला, साम्राज्ञी आरएल शाह, शिल्पा मास्के, पुष्प खड्का, सुशिल श्रेष्ठ, अञ्जना बराइली, निर्देशक ज्ञानेन्द्र देउजा, प्रदीप भट्टराई, लेखक प्रदीप भारद्धाजसहित दर्जनौं कलाकर्मी उपस्थित थिए । यसअघि नेफ्टा अवार्ड दुबई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भैसकेको छ ।