द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘ह्यारीकी प्यारी’ले दोस्रो शनिबारपनि दर्शकको साथ पाएको छ ।
जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमाको व्यापारमा ‘वर्ड अफ माउथ’को सकारात्मक प्रभाव पर्यो । शनिबार राजधानीका लाबिम मल, वान सिनेमाज, भक्तपुर क्युएफएक्स, केएल टावरलगायतका स्टेशनमा सिनेमाले हाउसफुलको व्यापार गर्यो । अन्य हलमा ५० देखि ६० प्रतिशत अकुपेन्सी रहेको कलाकार जितुले जानकारी दिए ।
शनिबार जितुसहित साम्राज्ञी, विजय बराल र निर्देशक कपिल रिजालको टिमले लाबिम मल, भक्तपुर क्युएफएक्स र वान सिनेमाजमा पुगेर दर्शक प्रतिक्रियापनि लिए।
व्यापारबाट उत्साहित भएका जितुले आफ्नो सिनेमाले बम्पर ओपनिङ नगरेपनि ‘वर्ड अफ माउथ’ले लामो समयमा हल टिक्ने विश्वास व्यक्त गरे ।
‘सिनेमा हेर्ने दर्शकको चाप बढ्दैछ । वर्ड अफ माउथले गर्दा आज प्रदर्शनको नवौं दिनमा पनि हाउसफुलको व्यापार गर्यो । कर्पोरेट लेभलका मान्छेहरुपनि आइराख्नु भएको छ । विशेष गरि परिवारसहित हेर्नेको संख्या ठुलो छ ।’ जितुले शनिबारको व्यापारिक रिपोर्टबारे बताए ।
‘सिनेमाको उत्कृष्ट प्रतिक्रियाको प्रभाव दर्शकमा पर्दैछ। मेरो सिनेमाले बम्पर हानेको छैन । खतम व्यापारपनि छैन । २० गते रिलिज भएको सिनेमाले आजको दिनसम्मपनि दर्शकको साथ पाइराखेको छ । लगातार एउटै अनुपातमा छ । आशा छ अझै लामो समय प्रदर्शन जारी हुनेछ ।’ जितु आशावादी देखिए ।
दोस्रो शुक्रबारसम्म सिनेमाले ८५ लाख ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जानकारी दिएको छ । आज शनिबारको व्यापारिक रिपोर्टसंगै सिनेमाले करोडको आँकडा छुने अनुमान गरिएको छ ।
फरक पृष्ठभूमिका दुई व्यक्तिबीचको सम्झौताको विवाहले जीवनमा आउने परिवर्तनको कथाबस्तुमा दर्शकले तारिफ गरेका छन्। यस्तै पहिलो पटक संगै काम गरेका जितु र साम्राज्ञीको जोडीलाईपनि रुचाइएको छ ।
जितु, साम्राज्ञी र विजयसंगै सिनेमामा लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको अभिनय छ ।
निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।
सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।
प्रतिक्रिया