वैशाख २९ मा महेश र बिनिताको ‘हल्कारा’

वैशाख २९ मा महेश र बिनिताको ‘हल्कारा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता महेश त्रिपाठी र अभिनेत्री बिनिता थापा मगरको मुख्य भुमिका रहेको सिनेमा हल्काराको प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार सिनेमाको निर्माण टिमले सिनेमाको दुई पोस्टर रिलिज गर्दै बैशाख २९ गतेबाट प्रदर्शनमा आउने जानकारी गराएको हो ।

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’मा अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको छ । ‘सिनेमाले गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छ,’ निर्देशक सापकोटा भन्छन्, ‘सिनेमा सत्यकथामा आधारित छ । तर कथालाई सकेसम्म मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने प्रयास गरेको छु ।’

सिनेमामा महेश त्रिपाठीले हुलाकी रामको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापा मगर मियाको चरित्रमा छिन् । ‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन सिनेमा महोत्सवमा उत्कृष्ट सिनेमा घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

यस्तै सिनेमाले नेपाल-अमेरिका सिनेमा महोत्सवमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो । सिनेमामा महेश र बिनिताका अलवा उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ ।

सिनेमालाई निर्देशक विक्रमका अलवा विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको सिनेमालाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । सिनेमाको सम्पादन पनि विक्रम स्वयंको हो । सिनेमालाई काठमाडौंमा करन श्रेष्ठ र जीजीए ग्रुपले वितरण गर्नेछ ।