विषयबस्तु, पटकथा र प्रस्तुतिकरणमा ‘फूलबारी’ अब्बल छ – प्रियंका

विषयबस्तु, पटकथा र प्रस्तुतिकरणमा ‘फूलबारी’ अब्बल छ – प्रियंका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गएको कार्तिकमा रिलिज ‘महापुरुष’पछि सेलाएको नेपाली सिनेमा बक्सअफिस अझैसम्म लयमा आउन सकेको छैन ।

३ महिनाको समयमा दर्जन बढी सिनेमाले घाटाको व्यापार गरे । हलमा प्रदर्शनरत ‘ह्यारीकी प्यारी’ले अन्य सिनेमाको तुलनामा केहि राम्रो व्यापार गरेपनि हलमा दर्शकको घुइँचो छैन । आखिर के कारण नेपाली सिनेमा हेर्न दर्शकलाई चासो छैन ?

अभिनेत्री प्रियंका कार्की पछिल्लो समय नेपाली सिनेमा पटकथा र प्रस्तुतिकरण चुकेको बताउछिन । फागुन ५ मा रिलिज हुने सिनेमा ‘फूलबारी’को प्रचारमा व्यस्त कार्कीले पटकथा र प्रस्तुतिकरण राम्रो भएमा दर्शकको विश्वास जित्न सक्ने धारणा राख्छिन ।

‘एउटा राम्रो सिनेमा बन्नलाई सर्वप्रथम विषयबस्तु बलियो हुनु पर्छ । पछिल्लो समय नयाँ नयाँ विषयबस्तुमा सिनेमा बनिरहेका छन् । जुन एकदमै राम्रो पक्ष हो । तर विषयबस्तु बलियो भएर मात्रै हुँदैन । त्यसलाई राम्रोसंग पटकथामा ढाल्नु पर्यो । अनि सिनेमालाई राम्रो रुपले प्रस्तुत गर्न सके सफल बन्छ । विषयबस्तु, पटकथा र प्रस्तुति मजबुत भयो भने पक्कैपनि सिनेमा राम्रो बन्छ ।’ प्रियंकाले एक टेलिभजन अन्तर्वार्तामा भनिन् ।

पटकथा र प्रस्तुतिकरणको कुरामा ‘फूलबारी’ अब्बल रहेको प्रियंका बताउछिन । साथै सिनेमा हेर्न दर्शक हलसम्म पुग्नेमा आशावादी छिन ।

‘हाम्रो यो सिनेमा पारिवारिक ड्रामा हो । परिवारसंग नजिक व्यक्तिहरुलाई यसले मज्जाले बाँध्छ । र संसारमा पारिवारिक कथाले नछुने व्यक्ति कमै मात्र होलान् । यसमा परिवारभित्रको प्रेम, झगडा, रिस, हाँसो, रोदन सबै हेर्न पाउनु हुनेछ । यो पटकथा र प्रस्तुतिकरणमा अब्बल छ । ट्रेलर र संगीतका प्रचार सामाग्रीमासमेत दर्शकको सकारात्मक प्रतिक्रिया छ । समग्रमा भन्नु पर्दा अहिलेको समयमा यसले राम्रो हाइप पाएको छ । आशा छ एउटा राम्रो सिनेमा हेर्न दर्शकहरु हल पुग्नु हुनेछ ।’ प्रियंका सिनेमाप्रति ढुक्क र दर्शकको साथ पाउनेमा आशावादी देखिइन ।

पहिलो सन्तान छोरीलाई जन्म दिएपछि प्रियंकाले अभिनय गरेको पहिलो सिनेमा भएका कारणपनि ‘फूलबारी’ प्रियंकाका प्रशंसकको लागि प्रतिक्षित बनेको छ ।

मुख्य कलाकार विपिन कार्की र अरुणा कार्कीको बुहारीको भूमिकामा देखिएकी प्रियंकाको जोडी सोमनाथ खनालसंग बाँधिएको छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमाको ट्रेलरमा १० लाख र ‘माया रैछ र’ गीतमा ३४ लाख भ्युज प्राप्त भैसकेको छ । सिनेमाको हाइप निर्माण गर्न प्रचार सामाग्रीले राम्रो भूमिका खेलेका छन् ।

विपिन, अरुणा, प्रियंका र सोमनाथसंगै सिनेमामा दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

यो सिनेमा महाशिवरात्रीको अवसर पारेर फागुन ५ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।