मल्टिप्लेक्समा ‘फूलबारी’को बुकिङ खुल्यो, कति पायो शो ?

मल्टिप्लेक्समा ‘फूलबारी’को बुकिङ खुल्यो, कति पायो शो ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महाशिवरात्री विदाको अवसर पारेर फागुन ५ देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘फूलबारी’को अग्रिम बुकिङ खुल्ला गरिएको छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमाको आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको हो । केहि हल भने शो खोल्ने तरखरमा छन् ।

काठमाडौंलक्षित मल्टिप्लेक्समा सिनेमाले ३५.२९ प्रतिशत शो पाएको छ । जुन औसत हो । बलिउडको ‘शेहजादा’ र हलिउड सिनेमा ‘एन्ट-म्यान एण्ड द वास्प: क्वान्टुमेनिया’संगको प्रतिस्पर्धाका कारण मल्टिस्टारर ‘फूलबारी’ले उल्लेख्य शो पाउन सकेन ।

तर प्राप्त शो संख्या कमजोर भने होइन । सिनेमाले सकारात्मक प्रतिक्रिया पाएको खण्डमा महाशिवरात्री, प्रजातन्त्र दिवस र ग्याप्लो ल्होसारको विदामा शोज बढ्न सक्छ ।

रामबाबुको पछिल्लो रिलिज ‘कबड्डी ४’ले ८८.७५ प्रतिशत शो पाएको थियो । जुन यस वर्ष रिलिज नेपाली सिनेमाको हकमा सर्वाधिक हो ।

‘फूलबारी’ले क्युएफएक्स चेनमा २९ शो पाएको छ । यस्तै अन्य चेन आइएनआइमा ९, वान सिनेमाजमा ८ र सिनेप्लेक्समा सिनेमाले ७ शो पाएको छ । बिग मुभिजमा ६ शो पाएको सिनेमालाई रन्जना सिनेप्लेक्सले ५ र बिएसआर मुभिजले २ शो दिएका छन् । यस्तै एफक्युब र किर्तिपुर सिनेप्लेक्समा सिनेमाले समान ३/३ शो पाएको छ ।

यो सामाग्री तयार पार्दासम्म क्युज र सिडिसी भने शो खोल्ने प्रक्रियामा छन् ।

पारिवारिक कथामा निर्मित सिनेमामा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

हिट निर्देशक, चर्चित कलाकार, पारिवारिक कथा, सार्वजनिक विदा र ट्रेलर/संगीतको हाइप सिनेमा चल्ने मुख्य आधार हुन् । ‘महापुरुष’ यता सुख्खा रहेको बक्सफिस ‘फूलबारी’ले लयमा ल्याउने अपेक्षा गरिएको छ ।