अनमोलको स्टारडम प्रभाव: अन्तर्राष्ट्रिय रुपमा चर्चा बटुल्दै ‘छड्के २’

अनमोलको स्टारडम प्रभाव: अन्तर्राष्ट्रिय रुपमा चर्चा बटुल्दै ‘छड्के २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शन मिति नजिकिदै गर्दा अनमोल केसी स्टारर सिनेमा ‘छड्के २’को चर्चा चुलिएको छ । पोस्टर रिलिजसंगै चर्चामा रहेको सिनेमाको टिजर सार्वजनिक भएपछी यसको चर्चा अन्तर्राष्ट्रिय रुपमा चुलिएको हो ।

नेपाली बक्सअफिसको सबैभन्दा भरपर्दा अभिनेता अनमोलको अभिनय भएकै कारण यसले अन्तर्राष्ट्रिय चर्चा बटुल्न सुरु गरेको हो । यसको टिजर रिलिज भएपछी युट्युबमा थुप्रै रियाक्सन र समिक्षाका भिडियो निर्माण भएका छन् । जहाँ हिन्दी भाषामा थुप्रै रियाक्सन भिडियो पोस्ट भएका छन् ।

अनमोल आफैंलेपनि केहि युट्युब रियाक्सनको लिंकहरु सामाजिक संजालमा पोस्ट गरेका छन् । जहाँ भारत, बंगलादेश, पाकिस्तान जस्ता देशका युट्युबरले रियाक्सन दिएका छन् । उनिहरुले अनमोललाई नेपालको सुपरस्टार, नेपाली सलमान खान र पुष्पाराज जस्ता उपनाम दिएका छन् ।

यो कुनै बहुभाषी सिनेमापनि होइन । तर विदेशी युट्युबरले नेपाली सिनेमालाई प्राथमिकता दिनुले अनमोलको स्टारडमको शक्ति देखाउछ ।

टिजरले नै १८ लाख बढी भ्युज पाउनु सिनेमाको अर्को सबल पक्ष हो । यसको भ्युजले ट्रेलरलाई प्रतिक्षित बनाइदिएको छ ।

सार्वजनिक टिजरमा अनमोल अहिलेसम्मकै फरक भूमिकामा देखिएका छन् । चकलेटी व्वायदेखि ग्याङस्टर भूमिकामा अनमोलको परिवर्तन उत्कृष्ट देखिएको छ । सम्भवत: उनलाई सिनेमामा अहिलेसम्मकै मजबुत अभिनयमा देख्न सकिनेछ ।

सिनेमाको ब्याकग्राउण्ड म्युजिक, कलर, चर्चित कलाकारको अभिनय, दमदार संवादले टिजरलाई रोमाञ्चक बनाएको छ ।

‘छड्के २’ निर्देशकका कारणपनि प्रतिक्षित छ । निर्देशक निगम श्रेष्ठले निर्देशन गरेको ‘छड्के’ अहिलेपनि दर्शकको मानसपलटमा छ । उक्त ग्याङस्टर सिनेमाले चितवन राष्ट्रिय निकुञ्जमा हुने चोरी शिकारीविरुद्धको कथा उत्कृष्ट ढंगले प्रस्तुत गरेको थियो ।

यस्तै ‘छड्के २’ले भने हिमाली जिल्लाको जडिबुटी चोरी शिकारीको कथा भन्छ । जुन विषयबस्तुका हिसावले उत्कृष्ट र महत्वपूर्ण छ । यस्तै निर्देशक श्रेष्ठको दोस्रो सिनेमा ‘लालपुर्जा’ले नेपाली दर्शकलाई नयाँ प्रस्तुतिकरण पस्केको थियो ।

होलीको छेकोमा फागुन १९ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

यस्तै रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानले यो सिनेमाबाट अभिनयमा डेब्यु गरेका छन् ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् । भने कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।