‘जारी’को टिजर रिलिज, दम्पतिको खटपटले निम्त्याउने प्रथा

‘जारी’को टिजर रिलिज, दम्पतिको खटपटले निम्त्याउने प्रथा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई र मिरुना मगर अभिनित सिनेमा ‘जारी’को टिजर सार्वजनिक भएको छ ।

२.४६ मिनेट लामो टिजर दृश्य र लिम्बु समुदायमा गाइने ‘पालम’को माध्यमबाट भनिएको छ । टिजरमा दयाहाङ र मिरुना दम्पतिको भूमिकामा देखिएका छन् । सम्बन्धमा खटपट आएपछि दयाहाङ रेखा लिम्बुतिर ढल्किएका छन् । भने मिरुनालाई रोयदीप श्रेष्ठले साथ दिन्छन । टिजर न्यारेशन गरेका रोयदीप ‘पालम’ गाउँदा गाउँदै कतिबेला मिरुनालाई जालमा पार्न सफल हुन्छन पत्तै हुँदैन ।

मिरुनाको दृष्यबाट सुरु हुने टिजर अन्त्यमा गएर रोयदीपको दृश्यसंगै सकिन्छ । यसबीचमा पालमको माध्यमबाट कथा भनिएको छ । र पालमको कारण कथाले नयाँ मोड लिने संकेत देखाइको छ ।

जारी प्रथामा आधारित रहेको सिनेमाको टिजरमा लिम्बु संस्कृति र भेषभुषा झल्किन्छ । ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’पछि दयाहाङ र मिरुनाको यो सिनेमा हो ।

बैशाख १ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन छ ।

दयाहाङ, मिरुना, रोयदीप र रेखासंगै सिनेमामा प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुलेलगायतका कलाकारहरुको अभिनय छ ।

सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्मित सिनेमामा झुमा लिम्बु/गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

रामबाबु गुरुङको निर्माण रहेको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सहनिर्माण रहेको छ ।