‘फूलबारी’ हेरेर निस्किंदा एक पटक परिवार सम्झिनु हुनेछ – प्रियंका कार्की

‘फूलबारी’ हेरेर निस्किंदा एक पटक परिवार सम्झिनु हुनेछ – प्रियंका कार्की

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रियंका कार्की नेपाली सिनेमा क्षेत्रकी एक यस्तो अभिनेत्री हुन् । जो हरदम चर्चामा रहन्छिन । डेब्यु गरेको १० वर्ष काटिसक्दापनि प्रियंका उर्जावान देखिन्छिन ।

लगातार सिनेमा, म्युजिक भिडियो, विज्ञापनमा छाइरहने प्रियंकाले लकडाउनको समय परिवारलाई दिइन । लकडाउनमा छोरी जन्माएकी प्रियंका लगतै सिनेमामा फर्किएकी छन् । नेपाली सिनेमा क्षेत्रमा विवाह गरेपछि अभिनेत्रीहरु चल्दैनन् भन्ने सोच हावी छ । तर आमा बनेको केहि समयमै फिट भएकी प्रियंका धेरैको प्रेरणापनि हुन् ।

सन्तान जन्माएपछि उनले अभिनय गरेको सिनेमा ‘फूलबारी’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । यो सिनेमा प्रियंकाको लागि विशेष छ । त्यसैले प्रचारमा सबैभन्दा धेरै खटिएकी छन् ।

पारिवारिक ड्रामा ‘फूलबारी’मा प्रियंकाले छुच्ची बुहारीको भूमिका निर्वाह गरेकी छन् । कलाकार सोमनाथ खनालको धर्मपत्नीको भूमिकामा देखिएकी प्रियंका कलाकार विपिन कार्की र अरुणा कार्कीको बुहारी हुन् । ट्रेलर हेर्दा उनि सिनेमामा छुच्ची बुहारीको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । तर प्रियंका आफुले निर्वाह गरेको पात्र व्यक्ति विशेषले फरक रुपमा लिने विश्वास लिएकी छन् ।

‘झट्ट हेर्दा छुच्ची बुहारी जस्तो देखिएला । परिवारमा उतारचढावपनि ल्याउछ मेरो पात्रले । कतिलाई नकारात्मक लागेपनि कति दर्शकले उक्त पात्रलाई आफुमा महशुस गर्न सक्नु हुन्छ । मैले गरेको पात्रको दृष्टिकोण र भोगाइलाईपनि ठाउँ दिनु भएको छ निर्देशकले । पात्र किन निश्चित छ भन्ने कुरापनि खुलाइएको छ ।’ प्रियंकाले पात्रबारे खुलाइन ।

सिनेमा हेरिसकेपछि प्रत्येक दर्शकले एकपटक परिवारलाई सम्झिने र आफूबाट भएको गल्तिलाई आत्ममुल्यांकन गर्न सिकाउने प्रियंका बताउछिन ।

प्रियंका ‘फूलबारी’ले बिभिन्न तत्वहरु बोकेको बताउछिन । जसले गर्दा दर्शक हलसम्म पुग्ने विश्वास राख्छिन ।

‘रामबाबु गुरुङले पहिलो पटक नयाँ जनरामा काम गर्नु भएको छ । जुन ‘कबड्डी’ फ्लेवर भन्दा भिन्न पाउनु हुनेछ । विपिन जीले गरिरहेको भूमिका भन्दा यसमा उहाँलाई फरक पाउनु हुनेछ । उहाँ पाको व्यक्तिको भूमिकामा हुनुहुन्छ । अर्को तत्व मेरो कमब्याक हुन् सक्छ । यो फ्यामिली ड्रामा भएकाले धेरै भन्दा धेरै दर्शकलाई फूलबारीले छुन सक्छ ।’ प्रियंकाले दर्शकले सिनेमा हेर्नुपर्ने आधार बताउछिन ।

सिनेमामा प्रियंका, विपिन, अरुणा र सोमनाथसंगै दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

महाशिवरात्रीको अवसर पारेर शुक्रबारदेखि अलनेपाल प्रदर्शन आएको सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । सिनेमाको बिहिबार बेलुका राजधानीमा प्रिमियर शो आयोजना गरिएको छ ।