प्रिमियरमा ‘फूलबारी’लाई तारिफै तारिफ, सिनेकर्मीले भने उत्कृष्ट सिनेमा

प्रिमियरमा ‘फूलबारी’लाई तारिफै तारिफ, सिनेकर्मीले भने उत्कृष्ट सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘फूलबारी’ले प्रिमियरमा उम्दा प्रतिक्रिया प्राप्त गरेको छ ।

बिहिबार राजधानीको बिग मुभिजमा सम्पन्न ग्राण्ड प्रिमियरमा सिनेकर्मी र पत्रकारको बाक्लो उपस्थिति रह्यो । प्रिमियरमा कलाकार विपिन कार्की र प्रियंका कार्की केन्द्रमा रहे । विपिनले अभिनयबाट तारिफ बटुल्दा प्रियंकाको पहिरणले चर्चा पायो ।

प्रियंकाले तेञ्जिङ भुटियाको डिजाइनमा ल्याभेन्डर रंगको जेली र बटरफ्लाइ प्रेरित गाउन लगाएकी थिइन । उनको हट अवतारले क्यामेराको ध्यान केन्द्रित गरेको थियो ।

प्रिमियरपछि रेड कार्पेटमा रामबाबु गुरुङ निर्देशित सिनेमाले तारिफै तारिफ बटुल्यो । सिनेमा हेर्ने अधिकांसले उत्कृष्ट भने । हल बाहिर निस्किंदै गर्दा प्राय पाहुनाका आँखा रसाएका थिए ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमामा निर्मित सिनेमालाई कसैलेपनि खोट लगाएनन् । प्रिमियरपछि सिनेमाको सामाजिक संजालमा सकारात्मक प्रतिक्रियापनि सकारात्मक देखिएको छ । सिनेकर्मी र पत्रकारले सिनेमाको मुक्तकण्ठाले प्रशंसा गरेका छन् ।

पारिवारिक कथामा निर्माण भएको सिनेमामा विपिन र प्रियंकासंगै अरुणा कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

सिनेमा हेरेर कसले के भने ?

दीपेन्द्र के खनाल (निर्देशक)

रामबाबु गुरुङले बनाउने सबै सिनेमा राम्रो हुन्छन । धेरै समयपछि एउटा राम्रो पारिवारिक सिनेमा हलमा लागेको छ । यस्तो सिनेमाले दुवैतिरको सम्बन्ध जोड्न मद्धत गर्छ । यस्तो सिनेमा मिस गर्नु हुँदैन । सबै जनालाई सपरिवार हेर्न आग्रह गर्छु ।

निशा अधिकारी (अभिनेत्री)

अहिलेसम्मपनि आफुलाई सम्हाल्न गाह्रो भैरहेको छ । भावनात्मक रुपमा उथलपुथल बनाउछ । सम्पूर्ण कोणबाट सिनेमा उत्कृष्ट लाग्यो । परिवार र छिमेकीको महत्व दर्साउछ । यो सिनेमा सुपरहिट हो । अभिनयको आधारमा कसैले अस्कर ल्याउछ भने त्यो विपिन कार्की नै हो । उहाँसंगै सबै कलाकारले उत्कृष्ट काम गर्नु भएको छ । दर्शकहरु मज्जाले हास्नु हुन्छ । मज्जाले रुनुपनि हुन्छ । यो कुराको चाइ ग्यारेण्टी छ ।

मिरुना मगर (अभिनेत्री)

सिनेमा एकदम राम्रो बनेको रहेछ । कति ठाउँमा रोएँ । आशुँ थाम्नै सकिएन । फूलबारी सिनेमालाई बधाई दिन चाहन्छु । समसामयिक छ । सबैले रिलेट गर्न सक्नु हुन्छ । परिवारसहित हेर्नु पर्ने सिनेमा बनेको छ ।

आयुषमान देशराज जोशी (अभिनेता)

सिनेमा एकदम राम्रो बनेको छ । पारिवारिक कथामा मुख्य चाहिने सिनेमा रफ्तार हो । सिनेमाले अन्त्यसम्म रफ्तार पकडेको छ । बीच बीचमा भावुकपनि भएँ । तर क्यामेराको अगाडी आशुँ भने देखाइन । सिनेमा फेरि हेर्छु र मज्जाले रुन्छु । विपिन जीको पात्र चुनौतीपूर्ण भएकाले कसरी निभाउनु होला भन्ने प्रश्न थियो । उहाँ पात्रमा मज्जाले डुबेर न्याय गर्नु भएको छ । प्रियंकाले आफुले पाएको भूमिकामा शतप्रतिशत दिएको छ । अन्य कलाकारको कामपनि उत्कृष्ट छ ।

यस कुमार (गायक)

बुबा-आमाको दृश्यमा हामीलाई फ्ल्यासब्याकमा पुर्याउछ । कतिपय दृश्यमा अपनत्व महशुस हुन्छ । परिवारको महत्व दर्साउछ । पहिले आमा-बुबासंग केहि गल्ती गर्नु भएको थियो भने आत्मग्लानी गराउछ । निर्देशक रामबाबु गुरुङले जादु छर्नु भएको छ । उहाँ कमेडीमा मात्र होइन भावनात्मक सिनेमा बनाउनपनि दखल राख्नु हुन्छ । ओभरअल सबै कलाकारको काम राम्रो छ । विपिन र अरुणा जीले भयंकर राम्रो अभिनय गर्नु भएको छ ।

सरिता गिरी (अभिनेत्री)

सिनेमा एकदमै राम्रो बनेको छ । कति ठाउँमा रोएँपनि । लेखन एकदमै उत्कृष्ट छ । कमेडी र इमोसनको टाइमिङ गज्जब छ । पाँचमा ४ रेट गर्न चाहन्छु ।

अभिनेता दयाहाङ राईले सिनेमाको स्क्रिप्ट पढ्दा र पर्दामा हेर्दा आफु सम्हालिन गाह्रो परेको बताए ।

‘सिनेमा हेरिरहँदा धेरै पटक मैले आशुँ नियन्त्रण गरें । स्क्रिप्ट पढ्दापनि म दुई पटक त्यहि अवस्थामा पुगेको थिएँ । साचै नढाटी भन्दा धेरै पटक गाह्रो भयो मलाई । सपरिवार हेर्न मिल्ने सिनेमा बनेको छ । मनोरंजनको प्याकेज छ । सायद दर्शकले रुचाउनु हुनेछ ।’ दयाहाङ आशावादी देखिए ।

प्रिमियरमा प्राप्त प्रतिक्रियाले निर्माण पक्षमा खुसियाली छाएको छ । प्रदर्शनको पहिलो दिन सिनेमाले राम्रो व्यापार गरेको छ । सिनेमाले सम्भवत: ‘महापुरुष’ पछिकै उत्कृष्ट ओपनिङ गर्न सक्छ ।

‘वर्ड अफ माउथ’ बलियो भएकाले शनिबार महाशिवरात्रीको विदामा सिनेमाले उत्साहजनक व्यापार गर्ने संकेत देखाएको छ ।