‘छड्के २’को ट्रेलरको चौतर्फी चर्चा, अनमोलको लूक्स र अभिनयको तारिफ

‘छड्के २’को ट्रेलरको चौतर्फी चर्चा, अनमोलको लूक्स र अभिनयको तारिफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स,काठमाडौं – फागुन १९ मा रिलिज हुने सिनेमा ‘छड्के २’को ट्रेलरलाई दर्शकले अत्याधिक रुचाएका छन् । बुधबार बेलुका सार्वजनिक गरिएको ट्रेलरले चौतर्फी चर्चा बटुल्न सुरु गरेको हो ।

रिलिजको १९ घण्टाभित्र ९ लाख भ्युज पाइसकेको ट्रेलरमा साढे २३ सय बढी प्रतिक्रिया आएका छन् । २९ हजार बढी लाइक्स पाइसकेको ट्रेलर ट्रेन्डिङको छैटौं स्थानमा उक्लिसकेको छ । ग्याङस्टर जनराको सिनेमामा ग्याङहरूबीचको लडाइँलाई नजिकबाट अनुभूत गर्न सकिन्छ ।

‘भाग्य लेख्ने भावी थियो…’ भन्ने संवादबाट सुरु भएको ट्रेलरले सुपरस्टार अनमोल केसी अर्थात सिनेमाको मुख्य पात्रलाई केन्द्रमा राखेको छ । मुख्य पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि गर्ने संघर्षका बीच आउने उतारचढावलाई ट्रेलरले देखाएको छ ।

दुनियालाई आफ्नो मुठ्ठीमा पार्न चाहने मेनडग अर्थात अनमोल आफ्नो टिमका साथ उद्देश्य भेट्टाउन संघर्ष गरिरहेका छन् । तर, उनकै जस्तो ग्याङ खडा गरेर अवरोध सिर्जना गर्नहरू पनि ट्रेलरमा सशक्त देखिएका छन् ।

ट्रेलर हेरेका अधिकांस दर्शकले अनमोललक्षित प्रतिक्रिया दिएका छन् । अनमोलको हुलिया, स्टाइल, अभिनय, टाइमिङ र लवजको दर्शकले खुलेर तारिफ गरेका छन् ।

यार्सागुम्बुको व्यापारबाट टन्न कमाएर देशकै गृहमन्त्री बन्ने सोचमा कमलमणि नेपाल छन् । दुस्मनलाई आफ्नै हातले छप्काउने सुरो स्वाभावका रोविन तामाङ छन् । अनि यी सबैलाई जितेर संसार आफ्नो मुठ्ठीमा राख्न चाहने मेनडग अर्थात अनमोल छन् । यीनै पात्रहरूको सेरोफेरोमा १.४० मिनेटको ट्रेलर तयार पारिएको छ ।

सिनेमामा गतिलो र विश्वस्नीय द्वन्द्व सिर्जना गर्न सक्यो भने शतप्रतिशत सफलता प्राप्त हुन सक्छ । यसमा निर्देशक र लेखक सधैँ चनाखो हुनुपर्छ । ट्रेलरमा द्वन्द्वका अंश समेटिएको छ । तर त्यसको विस्तृत रूप कस्तो छ ? त्यो त सिनेमा हेरेपछि नै थाहा हुनेछ ।

यार्सागुम्बाको कथा – त्यसप्रति लालायित युवापुस्ता, राजनीतिक सम्बन्ध, सुन्दर लेकेशन, अनमोल र रेशाको युवापुस्ता लक्षित प्रेम प्रशंग सिनेमाप्रति विश्वास दिलाउने आधार हुन् । सिनेमाले युवापुस्तालाई हलसम्म तान्न सक्ने आधार ट्रेलरले तयार पारेको छ ।

यस वर्षको प्रतिक्षित सिनेमाले रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङ खडा गरेर कथा भन्छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको सिनेमामा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानलगायतका कलाकारले अभिनय छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा को व्यानरमा निर्मित सिनेमाको निर्माता प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।