पुष्कर लामा नेफ्टाको अध्यक्षमा सर्वसम्मत निर्वाचित

पुष्कर लामा नेफ्टाको अध्यक्षमा सर्वसम्मत निर्वाचित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । विहिबार राजधानीमा सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

यसअघि उनले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए । निर्वाचन अधिकृत राजुप्रसाद धिमालले अध्यक्षसहितका अन्य दुई पदमा पनि सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जानकारी दिए । उनका अनुसार ‘के घर के डेरा’ निर्माता युवराज कार्की महासचिव र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अन्य पदका लागि निर्वाचन भएको थियो । अध्यक्षको रुपमा ह्याट्रिक गरेपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष लामाले सिनेमा प्राविधिकलाई सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

प्राविधिक र उनीहरुका सन्तानको शिक्षा र स्वास्थ्यबारेका एजेण्डा पनि उनका छन् । उपचारमा छूटको व्यवस्था गर्नेदेखि उपचारमा आर्थिक सहयोग प्रदान गर्ने योजना उनका छन् । साथै, सिनेमा अध्ययनमा प्राविधिक र उनीहरुका सन्तानलाई कलेज तथा विश्वविद्यालयमा विशेष छूटका लागि पहल गर्ने योजना समेत छ ।

आगामी कार्यकालमा नेफ्टाको आफ्नै भवन निर्माण गर्ने योजना समेत अध्यक्ष लामाको छ । उनकै नेतृत्वमा आगामी जेठ १३ गते अमेरिकामा नेफ्टा अवार्ड समेत आयोजना हुँदैछ । यसमार्फत सिनेमाको अन्तर्राष्ट्रियकरण गर्ने योजना छ ।

साधारण सभाको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सिनेमा प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आफूले पहल गर्ने वचन दिएका थिए । निजामती अस्पतालमा प्राविधिक र कलाकारलाई उपचारमा ५० प्रतिशत छूट दिन पहल गर्ने आश्वासन पनि उनले दिए ।

नेफ्टाको साधारण सभाका लागि विहिबार देशभर सिनेमा छायांकन कार्य स्थगित गरिएको थियो भने जिल्लामा पुगेका प्राविधिक सदस्यहरु राजधानी आइपुगेका थिए ।