थुनामुक्त भए पल

थुनामुक्त भए पल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बाल यौन दुरुपयोग अभियोगमा जेल जीवन बिताइरहेका अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

नाबालिग बलात्कारको आरोपपछि गत वर्ष फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका शाह ठ्याक्कै १ वर्षपछि फागुन १५ मै रिहा भएका हुन् ।

गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्धामा शाहलाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय र १० लाख रुपैयाँ क्षतिपूर्ति भर्नु पर्ने फैसला गरेको थियो । तर आइतबार उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्रै गएका थिए । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका छन् ।

सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे । कागजी प्रक्रिया पूरा गरेर पल रिहा भएका हुन् । पललाई रिहा गर्न बहिनी रोशनीले कागजमा हस्ताक्षर गरेकी थिइन् ।

पल आज पोखरा पुगेर जहाज हुँदै काठमाडौं आउनेछन् । उनलाई त्रिभुवन विमानस्थलमा उनी निकट सिनेकर्मीले स्वागत गर्ने तयारी गरिरहेका छन् ।