को हुन् निगम श्रेष्ठ ? जसले ‘छड्के २’को ट्रेलर मार्फत बजार बज गरे

को हुन् निगम श्रेष्ठ ? जसले ‘छड्के २’को ट्रेलर मार्फत बजार बज गरे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘छड्के २’ रिलिज हुँदा निर्देशक निगम श्रेष्ठले फिचर सिनेमा निर्देशनमा ह्याट्रिक गर्नेछन् । उनले यसअघि ‘छड्के’ र ‘लालपुर्जा’ निर्देशन गरेका थिए । त्यसैले उनको यो तेस्रो चलचित्र हो ।

निर्देशक बन्नु भन्दा पहिले उनले सिनेमा ‘लुट’मा चिफ असिस्ट गरेका थिए । जुन सिनेमा ब्लकबस्टर बनेको थियो । निगम अस्कर इन्टरनेशनल क्याम्पसका दोस्रो ब्याचका विद्यार्थी हुन् । सिनेमा पढेर निर्देशनमा आएका निगम सिनेमाको सैद्धान्तिक र व्यवहारिक ज्ञान भएका निर्देशक हुन् ।

त्यसैले उनका सिनेमा प्रतिक्षित हुने गरेका छन् । लोभलाग्दो सिर्जना ‘छड्के’ आकर्षक इनिसियल व्यापार गरेको सिनेमा हो । त्यतिबेला ‘लुट’ हाराहारीको सिनेमा भनेर प्रतिक्षित थियो ‘छड्के’ ।

‘लुट’को चिफ असिस्ट गरेको निर्देशकको सिनेमा र कलाकार पनि अधिकांश सोही सिनेमाका भएका कारण पनि ‘छड्के’लाई सोही नजरबाट हेरिएको थियो । उक्त सिनेमामा लगानी पनि ‘लुट’ निर्माताद्वय माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका थिए । अहिले पनि उच्च इनिसियल व्यापार गर्ने थोरै सिनेमा खोज्ने हो भने ‘छड्के’को नाम अगाडि आउछ ।

‘छड्के’ त्यही सिनेमा हो, जसमा विपिन कार्की ‘बिन्दू’को रोलमा थिए । उक्त सिनेमामा सुरुमा ‘बिन्दू’को रोल त्यति प्रभावशाली थिएन जति अहिले उक्त सिनेमा हेर्दा देखिन्छ । स्क्रिप्टमा ‘बिन्दू’को स्क्रिन टाइम नै छोटो थियो । तर, वर्कसपमा बस्दा विपिनको काम राम्रो देखेपछि निर्देशक निगमले ‘बिन्दू’को चरित्रलाई प्रभावशाली बनाउँदै स्क्रिन टाइम थपेका थिए । उक्त क्यारेक्टरको राम्रो ल्यान्डिङ गराएका थिए । यसले निगममा कलाकारको क्षमता चिन्ने क्षमता देखिन्छ । जुन कुशल निर्देशकको गुण पनि हो । यो सिनेमाले तारिफ बटुल्यो । राम्रो कमाइपनि गर्यो ।

निगमको दोस्रो चलचित्र हो ‘लालपुर्जा’ । जो दर्शक र बक्सअफिसका निकै अपेक्षित थियो । निक्कै मिहेनतमा निर्माण गरिएको सिनेमामा सिंक साउन्डसमेत प्रयोग गरिएको थियो । तर, यो निर्माताबीचको विवादका कारण कोपभाजनमा पर्यो । निर्माताबीचको विवादले सिनेमा अपेक्षा गरे जस्तो सफल भने हुन सकेन । विवादसंग नजिक रहेका हरेक सिनेकर्मीलाई यसबारे थाहा छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको निगमको तेस्रो सिनेमा ‘छड्के २’लेपनि मज्जाले बजार बज गरिरहेको छ । दर्शकलाई प्रतिक्षा गराउन निगम सफल भएका छन् । धेरैजसो अनमोल केसीलाई लाग्ने आरोप हो – चरित्रअनुसार उनको अभिनय र डाइलग डेलिभर हुँदैन । तर, यो टिप्पणीबाट यसपटक अनमोल बचेका छन् । यी दुवैमा उनको तारिफ भइरहेको छ । ‘सिप अफ द क्याप्टेन’ अथवा सिनेमा निर्देशकीय माध्यम भएकाले अनमोलको राम्रो कामको श्रेयका हकदार निगम नै हुन् । निगमले अनमोललाई काम गराउन सके । त्यसैले राम्रो काम भयो । थियटरका कलाकारबीच अनमोललाई लिएर काम गर्न र गराउन सक्नु निगमको क्षमता मात्रै होइन उनले मोलेको चुनौती पनि हो ।

निगम प्राय आफ्नो सिनेमाको स्क्रिप्ट पनि आफैँ लेख्छन् । आफैँ स्क्रिप्ट लेख्ने भएकाले पनि उनले आफ्नो सिनेमाले भन्न खोजेको के हो पर्दामा सहजै देखाउन सक्छन् । फागुन १९ गते रिलिज हुने सिनेमा ‘छड्के’मा पनि निगम स्वयंले लेखेको सिनेमा हो ।

ट्रेलरबाट चौतर्फी तारिफ बटुलिरहेका निगम यो सिनेमा दर्शकले मन पराउनेमा ढुक्क छन् । ट्रेलर अहिले पनि ट्रेन्डिङमै छ । राम्रो भ्युज र कमेन्ट पाइरहेको छ । अनमोल केसी मुख्य भूमिकामा रहेको यो ग्याङस्टार सिनेमाको लेखन र निर्देशन दुवै निगमको हो । निगमले सिनेमाको एक मुख्य भूमिकामासमेत अभिनय गरेका छन् । अभिनयमा उनको यो पहिलो प्रयासपनि हो ।

अनमोलसँगै सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानलगायत कलाकारले अभिनय छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधाको व्यानरमा निर्माण भएको सिनेमाको निर्माता प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।