अनमोल र दीपकराजले दिए एकअर्कालाई शुभकामना संदेश

अनमोल र दीपकराजले दिए एकअर्कालाई शुभकामना संदेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएका सिनेमा ‘छड्के’ र ‘छक्का पन्जा ४’का मुख्य कलाकार अनमोल केसी र दीपकराज गिरीले एकअर्कालाई सफलताको शुभकामना दिएका छन् ।

अनमोलले फेसबुक मार्फत दुवै सिनेमाको पोस्टर शेयर गर्दै नेपाली सिनेमाको संरक्षण गर्नु दायित्व रहेको प्रष्ट्याउदै शुभकामना दिएका हुन् ।

अनमोल लेख्छन, ‘सानैदेखि मेरो यो मान्यता छ कि, नेपाली सिनेक्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो र यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो । साथै भोलिदेखि तपाईहरु समक्ष प्रदर्शनमा आइरहेका दुई सिनेमाहरू छड्के २.० र आदरणीय दाई-दिदीहरुको छक्का पन्जा ४ लाई म मेन्डग र हाम्रो टिम छड्के २.० को तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु । हजुरहरूको साथ र आशिर्वाद नै हाम्रो लागी काम गर्ने प्रेरणा र उर्जाको श्रोत हो । जय छड्के, जय छक्का पन्जा ,जय नेपाल ।’

‘छक्का पन्जा ४’का मुख्य कलाकार दीपकराजले आफ्नो सिनेमाको प्रदर्शन साँढे जुधाई नरहेको बताएका छन् ।

अब हाम्रो हातमा केहि छैन हजूरहरूकै हातमा छ । भोलिदेखि २.० छड्के र छक्का पन्जा ४ प्रदर्शन हुँदैछ । धेरैले किन जुधेको भनेर पनि सोधे । यो साँढे होइन जुध्नलाई, यो फुटवल खेल पनि होइन एउटा टिम हार्ने र अर्को जित्ने । यहाँ दुवै टिमले जित्न सक्छ ! प्यारो अनमोल भतिजलगायत सम्पूर्ण छड्के टिमलाई शुभकामना ! जय नेपाली चलचित्र !’ दीपकलेपनि दुवै सिनेमाको पोस्टरसहित शुभकामना पोस्ट गरेका छन् ।

ग्याङस्टर जनराको ‘छड्के २’मा अनमोलले मेनडगको भूमिका निर्वाह गरेका छन् । निगम श्रेष्ठले निर्देशन गरेको सिनेमामा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानलगायतका कलाकारहरुको अभिनय छ ।

यस्तै नेपालको राजनीतिक परिवेशलाई व्यग्य गरेको सिनेमामा दीपकराजसंगै दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, नीर शाह, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकीलगायतको अभिनय छ ।

सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।