चलचित्र पत्रकार संघको ‘सुरक्षा भत्ता कोष’मा अध्यक्ष सिटौलाको सहयोग

चलचित्र पत्रकार संघको ‘सुरक्षा भत्ता कोष’मा अध्यक्ष सिटौलाको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले संघको ‘जेष्ठ सदस्य पेशागत सुरक्षा भत्ता कोष’मा ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

बुधबार राजधानीमा भइरहेको संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनको उद्घाटनसत्रमा अध्यक्ष सिटौलाले पुर्व अध्यक्षद्वय शान्तिप्रिय र विदुर गिरीलाई सो रकम हस्तान्तर गरे ।

केहि महिना अगाडीले संघले सिटौलाको अध्यक्षतामा २० वर्ष भन्दा बढी समय सक्रिय र ६० वर्ष उमेर पुगेका आफ्ना जेष्ठ सदस्यलाई मासिक ४ हजारका दरले सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको थियो ।

बुधबार बेलुका सम्पन्न हुने अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई उक्त रकम हस्तान्तरण गरिनेछ । अध्यक्ष सिटौलाले सुरक्षा भत्ताकोषको कार्यविधिपनि पारित भइसकेको र प्रक्रिया पुरा गरेर सम्बन्धित व्यक्तिले लाभ लिन सक्ने जानकारी गराए ।

सिटौलाका अनुसार संघका जेष्ठ सदस्य वरिष्ठ पत्रकार विजयरत्न तुलाधरले निवेदन दिइसकेका छन् । तोकिएको मापदण्ड पुरा गरि तुलाधरले प्रक्रियागत रुपमा मासिक ४ हजार सुरक्षा भत्ता प्राप्त गर्नेछन् ।

अब आउने नयाँ कार्यसमितिले यस कोषलाई प्रभावकारी ढंगले अगाडी बढाउनेमा अध्यक्ष सिटौला आशावादी छन् ।

अबको केहि बेरमा बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रपछि उम्मेदवारी दर्ता र त्यसपछि नयाँ कार्यसमितिको लागि मतदान हुनेछ । मतदानको अन्तिम नतिजापनि आज बेलुका नै आउनेछ ।

नवौं महाधिवेशनमा प्रस्तुत अध्यक्ष दिनेश सिटौलाको मन्तव्य (पूर्णपाठ)

चलचित्र पत्रकार संघ नेपालको २३ औँ साधारणसभामा उपस्थित हुनुभएका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष श्री विपुल पोखरेल ज्यू, चलचित्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष श्री भरत शाक्य ज्यू,

निवर्तमान अध्यक्षज्यू सन्दीप सापकोटाज्यू तथा पूर्व अध्यक्षज्यूहरु शान्तिप्रिय र विदुर गिरीज्यू,

चलचित्र पत्रकार संघ नेपालका संस्थापकज्युहरु,

नेपाल पत्रकार महासंघका एशोसियट सचिव श्री पवन आचार्यज्यू,

नेपाल पत्रकार महासंघ एशोसियट प्रदेश समितिका अध्यक्ष वैकुन्ठराज पराजुलीज्यू,

कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,

सल्लाहकारज्यूहरु,

सम्पूर्ण शाखा अध्यक्षज्यूहरु तथा हाम्रो निमन्त्रणालाई स्वीकार्दै पाल्नु भएका सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीज्यूहरु तथा चलचित्र पत्रकार संघ नेपालका सम्पूर्ण सदस्यज्युहरुमा हार्दिक स्वागत तथा नमस्कार ।

आज हाम्रो संघको २३ औँ साधारणसभा हो। यसका साथै आज नै हामीले नवौं महाधिवेशन समेत आयोजना गरेका छौँ। यो महाधिवेशनले आठौँ कार्यसमितिलाई बिदाइ गर्दै आगामी ३ वर्षका लागि नयाँ नेतृत्वको चयन गर्नेछ ।

३ वर्ष पहिला मेरो नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुँदै गर्दा हामीमा संघका लागि धेरै कुरा गर्ने असिम उत्साह थियो । उत्साहसँगै हामीभित्र अठोट पनि थियो तर यो समयमा हाम्रा अठोटका अगाडि एउटा विश्वव्यापी समस्या पहाड बनेर खडा भयो । त्यो पहाड संसारभरको मानवसभ्यतालाई खलबलाउने कोरोना भाइरसको प्रकोप भएको सबैलाई अवगत नै छ। यसले हाम्रा व्यक्तिगत, सामाजिक तथा संस्थागत दैनिकीहरूलाई पूर्णरुपमा असर गर्यो।

उक्त कठिन समयमा जीवन रक्षा नै पहिलो प्राथमिकता बनेपछि हामीले निर्वाचित भएपछी लिएका अठोटहरूलाई मूर्तरूप दिन निकै सकस पर्यो। यसका लागि हामी अत्यन्त दुखित छौं। लगातार दुईवटा कोरोनाका लहरहरू हाम्रो बाटोमा आएपनि स्थिति सहजतातर्फ लागेपछि हामीले त्यसलाई अधिकतम उपयोग गर्ने कोशिस गर्यौं। जसका कारण केही कामहरू सम्पन्न गरेर यो कार्यकाल टुङ्ग्याउन पाउँदा भने केही सन्तोष मिलेको छ।

हाम्रो ध्यान हाम्रो पेसाको निखारता र विकासका लागि केन्द्रित हुने गरेकोमा यसपटकको असहज परिस्थितिले हामीले केहि फरक काम पनि गर्नु पर्यो। मलाई लाग्छ संघ यि कामका लागि पनि हो। कोरोना महामारी सुरू भइसकेपछि हामीले ‘हामी नै हाम्रो लागि’ भन्ने नाराका साथ सहयोग आवश्यक परेका हाम्रा सदस्यहरुलाई राहत वितरण गर्यौं। त्यसैगरी चलचित्र पत्रकारितालाई प्रोत्साहित गर्न लकडाउनकै समयमा हामीले ‘कोरोना भाइरसः नेपाली फिल्म र पत्रकारिता’ शीर्षकमा लेख प्रतियोगिताको आयोजना गरि पुरस्कृत गर्यौ। साथै, कोभिड -१९ कै कारण बिरामी परेर रगत अभाव भै जीवन गुमाउने अवस्थामा पुगेका बिरामीलाई सहज रुपमा रगत प्राप्त गराउन मद्दत गर्ने उद्देश्यले हामीले रक्तदान कार्यक्रम आयोजना गरेका थियौं।

त्यसैगरी चलचित्र पत्रकारितामा आफ्नो समय र उर्जा खर्च गर्ने हाम्रा सदस्यहरूको सम्मानका खातिर हामीले स्थापना गरेको कल्याणकारी कोषलाई कार्यविधि अनुसारको बनाउन प्रयास गरिरहेका छौं। कल्याणकारी कोषको मापदण्ड अनुसारको रकम अझै जोहो भइनसकेको जानकारी यहाँहरूलाई गराउँछु र आगामी कार्यसमितिले त्यस लक्ष्यलाई छिट्टै प्राप्त गर्ने आशा मैले लिएको छु। यस कोष सन्चालन कार्यविधिलाई हामीले हाम्रा सदस्यहरूले अधिक्तम लाभ लिन पाउने गरी निर्माणको प्रक्रियामा लगेका छौं।

योसँगै ज्येष्ठ सदस्यलाई पेशागत सुरक्षा भत्ताको छुटै कोष स्थापना गरी कार्यविधि अनुसार मासिक भत्ता प्रदान गरिने व्यवस्था गरी अगाडी बढ्न सफल रहेका छौं। जसको लागि कार्यसमितिले एक कार्यविधि बनाई पारित गरेको छ। यो सँगै ज्येष्ठ सदस्य श्री विजयरत्न तुलाधरको निवेदन समेत प्राप्त भईसकेको र उहाँले तोकिएको मापदण्ड पुरा गरी सुरक्षा भत्ता स्वरुप मासिक चार हजार रुपैयाँ प्राप्त गर्ने प्रक्रिया अगाडी बढेको छ। आगामी कार्यसमितिले पनि यो व्यवस्थालाई निरन्तर अगाडी बढाउने विश्वास लिएको छु।

त्यस्तै हामीले सवारी दुर्घटनामा परेर गम्भिर घाइते भएका हाम्रा निवर्तमान कार्यसमिति सदस्य सुरेश दुलालको उपचारार्थ चलचित्र ’कालोपोथी’को च्यारिटी शो मार्फत आर्थिक संकलन गरी सहयोग गरेका थियौं ।

यस्तै सदस्यहरूको क्षमता अभिवृद्धि गर्नका लागि हामीले केही विषयगत कार्यशालाहरू गर्यौं जसमा पहिलो चरणमा फोटो तथा भिडियो पत्रकार लक्षित कार्यशाला गरिएको थियो। त्यसपछि पनि हाम्रा केही कार्यशालाको योजना तयभएकोमा कोरोनाको दोश्रो लहरले हाम्रो योजनाले बढ्न सकेन।

तर यो कार्यसमितिको अन्त्यमा भने हामीले दुई दिने ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शीर्षकमा कार्यशाला गर्यौं। यसमा ९४ जना पत्रकारहरुको उत्साहजनक सहभागिता थियो।

योसँगै हामीले यो कार्यकालमा बाँके, सुनसरी तथा पर्सा जिल्लामा गरी ३ वटा शाखा विस्तार गर्यौं। यी शाखाहरूको विस्तारसँगै राजधानी र मोफसलमा गरि ५ सय भन्दा बढि सदस्यहरू हाम्रो संघमा आबद्ध हुनुभएको छ, जुन हाम्रा लागि खुशीको कुरा हो। यसैगरी हाम्रो जिल्ला शाखाहरूको संख्या आठ पुगेको अवगत गराउँदछु।

त्यस्तै संघका सदस्यहरूलाई प्रोत्साहित गर्न हामीले नगद पुरस्कारसहित दिदैं आएको पुरस्कार राशिमा पनि वृद्धि गरेका छौं। केहि बर्षदेखी रोकिएको मोफसल चलचित्र पत्रकारिता पुरस्कारलाई हामीले पुनः सुचारु गरेका छौं। केन्द्र र शाखा बीचको सम्बन्धलाई थप मजबुत बनाउन हामीले हरसम्भव प्रयास गरेका छौं।

चलचित्र पत्रकारितालाई अझ सहज, संगठित, मर्यादित र व्यवसायिक बनाउन नेपाल पत्रकार महासंघ तथा सरोकारवाला संघ संस्थासँग सहकार्य तथा आफ्नो संस्थागत अधिकारको लागि पहल गर्ने लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिएका छौँ। नेपाल पत्रकार महासंघको एशोसिएट संस्थाको रूपमा पुरानो भएकाले हामीले प्राप्त गर्ने सुविधा र लाभको विषयमा पहल गर्दै दबावसमेत दिईरहेका छौँ। महासंघले हाम्रो यो मागलाई चाँडो भन्दा चाँडो सम्बोधन गर्नेमा विश्वस्त छौं।

अन्त्यमा यो कार्यसमितिको कार्यकाललाई सफल बनाउनका लागि सशक्त भूमिका खेल्नु भएका कार्यसमितिका सदस्य तथा पदाधिकारीप्रति म कृतज्ञ छु।

यति भन्दै यस साधारणसभा तथा महाधिवेशनमा हाम्रो निमन्त्रणलाई स्विकार गरी पाल्नु भएका सम्पूर्ण अतिथिहरूलाई हार्दिक धन्यवाद दिन्छु।

अध्यक्ष दिनेश सिटौला

२०७९/११/१७