‘छक्का पन्जा ४’का दृश्य टिकटकमा लिक गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी

‘छक्का पन्जा ४’का दृश्य टिकटकमा लिक गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा ४’का क्लिप्स अनधिकृत रुपमा टिकटकमा सार्वजनिक हुन् थालेपछि डिजिटल अधिकार प्राप्त कम्पनि ओएसआरले प्रहरी साइबर ब्युरोमा उजुरी दिएको छ ।

त्यस्ता अनधिकृत पोस्टको पहिचान खुलाइदिन र हटाइपाऊं भन्दै ओएसआरले ब्युरोमा निवेदन दिएको प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिएका छन् ।

हेमराज बिसी निर्देशित सिनेमाका महत्वपूर्ण दृश्यहरु टिकटकमा पोस्ट हुन थालेपछि निर्माण पक्ष र डिजिटल राइट्स कम्पनिलाई हैरानी परेको छ । १५ मिनेटसम्मका दृश्य पोस्ट भएकाले यसले सिनेमाको व्यवसायमा चुनौती थपेको छ !

ओएसआरका ओम अग्रवालले आफुहरुले महँगो रकममा सिनेमा किनेको कारण जसरी भएपनि पाइरेसी रोक्न निवेदन दिएको बताए ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले सिनेमाको व्यवसायलाई मध्येनजर गर्दै टिकटकका भिडियो रोक्न टिमले चलचित्र संघसंग छफल गर्ने बताएका छन् । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र संघसंगको वार्तामा टिकटक पाइरेसी विषयलाई एजेण्डाको रुपमा प्रस्तुत गर्ने बताए ।

नेपालको राजनीतिक परिवेशमा व्यंग्य गर्ने सिनेमामा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, बेनिशा हमाल, निर शाह, राज आचार्य, बेदना राई, मलिना जोशी, लूनिभा तुलाधर, सुष्मा निरौला, रमेश बुढाथोकी, अनुराग कुँवरलगायतका कलाकारहरुको अभिनय छ ।

समिक्षकबाट औसत समिक्षा प्राप्त गरेको सिनेमाले बक्सअफिसमा भने आक्रामक व्यापार गरिरहेको छ । होली र नारी दिवसको विदामा सिनेमाको व्यापारमा उछाल आउने प्रक्षेपण गरिएको छ ।