निर्देशक प्रताप सुब्बाको ७५ वर्षको उमेरमा निधन

निर्देशक प्रताप सुब्बाको ७५ वर्षको उमेरमा निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार बिहान निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका निर्देशक सुब्बाकको अस्पतालमा उपचारको क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो ।

मौलिक नेपाली सिनेमाका प्रणेता मानिने सुब्बाले दार्जिलिङबाट ‘परालको आगो’, ‘बाँच्ने चाहने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘भीष्म प्रतिज्ञा’ जस्ता सिनेमाको निर्देशन गरेका छन् । ‘परालको आगो’ नेपालबाहिर बनेको पहिलो मौलिक सिनेमा थियो । ४० को दशकमा नेपाल आएका सुब्बा केही सिनेमा र टेलिसिनेमा बनाएर ५० को दशकमा दार्जिलिङ फर्किए ।

दार्जिलिङमा सन् १९४७ मा जन्मिएका सुब्बाले ७ वटा फिचर सिनेमा, ६ वटा वृतचित्र, ५ वटा भिडियो सिनेमा, १३ वटा टेलिसिनेमा र ५ वटा नाटकको निर्माण तथा निर्देशन गरेका छन् । त्यसपछि उनले सिनेमा निर्माण तथा निर्देशन गरेका छैनन् ।

अघिल्लो वर्ष नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ)को चौंथो संस्करणमा सिनेमा निर्माण तथा निर्देशनको अनुभव साट्न नेपाल आउने क्रममा उनले अहिले नेपाली सिनेमामा अस्वस्थ प्रतिस्पर्धा रहेको गुनासो गरेका थिए । उनले भनेका थिए, ‘पहिले सिनेमाबीच स्वस्थ प्रतिस्पर्धा थियो । अचेल सिनेमामा अस्वस्थ प्रतिस्पर्धा छ । अनावश्यक राजनीतिक हस्तक्षेप हुन थालेका छन् ।’

निर्देशक प्रकाश सायमी निर्देशक प्रताप सुब्बालाई नेपाली सिनेमा क्षेत्रले पाएको विएस थापा र प्रकाश थापापछिको महत्त्वपूर्ण निर्देशक मान्छन् । उनका अनुसार, प्रताप सुब्बाले ‘परालको आगो’भन्दा अघि ‘सपना कतिपय नामक सिनेमाको निर्माणको काम सुरु गरेका थिए । तर, त्यो सिनेमा बन्दा बन्दै रिल जलेर नष्ट भएपछि सुब्बाले गुरुप्रसाद मैनालीको कथामा ‘परालको आगो’ निर्देशन गरेको सायमीले बताउँछन् ।