कलाकार संघको अध्यक्षमा मोहन र महासचिवमा सविन विजयी

कलाकार संघको अध्यक्षमा मोहन र महासचिवमा सविन विजयी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार राजधानीमा सम्पन्न ९ औं महाधिवेशनबाट कलाकारहरुको साझा संस्था नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै जित निकालेका हुन् ।

निर्वाचनमा कूल खसेको ४ सय ६८ मतबाट अध्यक्षमा विजयी मोहनको पक्षमा २३५ मत खस्दा रेजिनाले २०९ मत प्राप्त गरेकी थिइन् । त्यस्तै, महासचिवमा अभिनेता सविन श्रेष्ठ र उपाध्यक्षमा कविता गेलाल विजयी भएका छन्, भने र्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भए ।

यसैगरी, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवालले विजयी हासिल गर्दा सहकोषाध्यक्ष पदमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् । पदाधिकारीमा निर्वाचित हुनेमा रेजिना प्यानलका बैरागीबाहेक अरु सबै निरौला प्यानलका हुन् । सदस्यमा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा पनि उनी सदस्यमा विजयी भएका थिए । अन्य सदस्यहरुमा गोपाल ढकाल ‘छन्दे’ २८७, उद्दव प्रसाद भट्टराई २११, पवन केसी २०२, नम्रता खरेल १८७, पुकार भट्टराई १८२, खुश्बु खड्का १७७, सरिता राधोपाध्याय १४६, रोशन श्रेष्ठ १३५ र समीर लामा १३३ पनि विजयी भएका छन् ।