‘नांगो गाँउ’को १५ दिने वर्कसप सकियो, चैत्र १० गतेबाट छायांकन

‘नांगो गाँउ’को १५ दिने वर्कसप सकियो, चैत्र १० गतेबाट छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा पनि छायांकन पूर्व वर्कसप गर्ने ट्रेण्ड बढ्दो छ । नेपालमा यसरी पूर्व सम्पुर्ण कास्ट एण्ड क्रिउ टिम बसेर सिनेमाको विषयमा छलफल गर्ने चरणको सुरुवात भएको केही बर्ष मात्रै भएको छ । बलिउड तथा हलिउडमा यो ट्रेण्डको सुरुवात भएको धेरै पहिले नै हो ।

यसैबीच दीपेन्द्र लामाको लेखन र निर्देशनमा निर्माण हुने सिनेमा ‘नांगो गाउँ’को पनि १५ दिनसम्म वर्कसप गरिएको छ । सिनेमाको निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग-अलग वर्कसप गरिएको थियो । अन्तिममा कलाकारहरु दयाहाङ राई, कर्म, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, अंकित खड्का र रवीन्द्र झा वर्कसपमा सहभागी भएका थिए ।

कलाकारहरुलाई पटकथा, चरित्र निर्माण तथा कथ्य संरचनाका विषयमा प्रकाश पारिएको थियो । निर्देशक टिम र कलाकारबीचको अन्तरक्रियालाई रचनात्मक र प्रगतिशील बनाइएको निर्माता हिमाल शर्माले बताए । कुनै पात्रले कुन संवाद किन बोल्दैछ ? कुन पहिरन किन पहिरिँदैछ ? कथालाई अगाडि बढाउन उसको भूमिका के हो ? जस्ता विषयमा छलफल गरिएको उनको भनाई छ ।

निर्देशक लामाले घनिभूत किसिमले वर्कसप भएको बताए । राजेश विश्वकर्माले सहजीकरण गरेको वर्कसपले पटकथामा लेखिएका दृश्यहरुलाई सशक्त रुपमा पर्दामा उतार्न सहयोग मिल्ने दयाहाङको विश्वास छ । सिनेमाकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह भने थाइल्यान्ड भ्रमणमा रहेकाले वर्कसपमा सहभागी हुन पाएकी थिइनन् । सिनेमालाई आलोक शुक्लाले छायांकन गर्दैछन् ।