सकियो निफ, ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट सिनेमा

सकियो निफ, ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) सोमबार सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन विकासका लागि सिनेमाको योगदान महत्वपूर्ण हुने बताए । सिनेमाले कूटनीतिज्ञको भूमिका खेल्ने चर्चा पनि उनले गरे ।

निफ अध्यक्ष केपी पाठकले नेपालबाट उडान हुने प्रत्येक जहाजमा नेपाली सिनेमा स्क्रिनिङको व्यवस्था मिलाउन र महोत्सवलाई सघाउन पर्यटनमन्त्री किराँतीको ध्यानाकर्षण गराए । घाटामा गएको नेपाली सिनेमा उद्योगलाई राहत दिन जहाजमा सिनेमा देखाउने व्यवस्था प्रभावकारी हुने उनको भनाई थियो ।

प्रतिस्पर्धी कलाकार र सिनेमालाई पुरस्कृत गरिएको महोत्सवमा नेपाली सिनेमातर्फ ‘प्रकाश’बाट प्रदीप खड्का सर्वश्रेष्ठ अभिनेता र दीया मास्के सर्वश्रेष्ठ अभिनेत्री घोषित भए । उत्कृष्ट अभिनेता घोषित भएपछि ट्रफी उचाल्दै अभिनेता खड्काले अभिनेताको रुपमा पहिलोपटक अवार्ड जित्दा खुशी मिलेको प्रतिक्रिया दिए ।

उनले भने, ‘एक्सपेरिमेन्ट गर्ने चक्करमा निर्देशकको भिजन र निर्माताको पैसा नडुबोस् भनेर सिनेमा खेल्न मानेको थिइँन । तर, उहाँहरुको दबाबको कारण सिनेमा खेलेँ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’ महोत्सवमा ‘ऐना झ्यालको पुतली’ सर्वश्रेष्ठ सिनेमाको अवार्ड उचाल्यो । आफू निर्मित सिनेमाले पुरस्कार जितेपछि ट्रफी उचाल्दै निर्माता रामकृष्ण पोखरेलले जुरी र महोत्सव आयोजकलाई धन्यवाद दिए ।

३५ देशका ९५ सिनेमाले प्रतिस्पर्धा गरेको महोत्सवमा १३ वटा अवार्ड वितरण भए । महोत्सवमा प्यानल छलफलदेखि मास्टरक्लास संचालन भएका थिए । पाँचदिनसम्म चलेको निफमा ९ सेसन र तीन मास्टरक्लास सम्पन्न भएका थिए । क्रोएसियका सिनेमामेकर इतामी ब्रोजन, भारतका , प्रेमेन्द्र मजुमदार र चीनकी प्राध्यापक ली रानले मास्टर्स क्लास संचालन गरेका थिए ।

निफ विजेता सूची :

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर सिनेमा – अ हाउस विथ नो नेम : पातालघर (बंगलादेश)

सर्वश्रेष्ठ छायांकन – राजेश श्रेष्ठ (प्रकाश)

सर्वश्रेष्ठ पटकथा – सुजित बिडारी (ऐना झ्यालको पुतली)

सर्वश्रेष्ठ अभिनेता – प्रदीप खड्का (प्रकाश)

सर्वश्रेष्ठ अभिनेत्री – दीया मास्के (प्रकाश)

सर्वश्रेष्ठ निर्देशक – सुजित बिडारी (ऐना झ्यालको पुतली)

सर्वश्रेष्ठ निर्देशक छोटो सिनेमा – प्रद्यूम्न मिश्र (दुविधा)

सर्वश्रेष्ठ छोटो नेपाली सिनेमा – जुन्को (मिन्सो लिम्बु)

सर्वश्रेष्ठ छोटो अन्तर्राष्ट्रिय सिनेमा – द बुक (इरान)

सर्वश्रेष्ठ छोटो एनिमेटेड सिनेमा – द लिजेण्ड अफ गोल्डहन (स्लोभेनिया)

सर्वश्रेष्ठ राष्ट्रिय वृत्तचित्र – द टाइगर्स ज (निर्देशक – कमल कुमार)

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय डकुमेन्ट्री – सोल्स अफ द फरेस्ट (इन्डोनेसिया)

सर्वश्रेष्ठ नेपाली फिचर सिनेमा – ऐना झ्यालको पुतली

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर सिनेमा – मेमोरिज अफ ग्लुमी मनसुन्स (बंगलादेश)