पाइरेसी रोक्न बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी डेस्क’ सञ्चालन गर्ने

पाइरेसी रोक्न बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी डेस्क’ सञ्चालन गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार बोर्डको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी डेस्क’ सञ्चालन गर्ने जानकारी दिएको छ । बोर्डले हटलाइन नम्बरसहितको डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको जानकारी गराएको हो । कार्यक्रममा बोर्डलाई डिजिटल प्रविधिमा लैजाने योजनासहितको डेमोस्ट्रेसन अर्थात् नमुना समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेल, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रल्हाद प्रसाद पुडासैनी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ नायब उपरिक्षक रुपक खड्का, प्रहरी निरिक्षक खेमराज खनाल, प्रहरी बरिष्ठ नायब निरिक्षक सन्तोष लामा, प्रहरी नायब निरिक्षक कोपिला केसी, बोर्डका सदस्य केएल बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका फाउण्डर बिक्रान्त कार्की र आईडिया ब्रिड आईटी सोलुशनका निबेश किरण अधिकारीले संयुक्त रुपमा ‘सिनेमा साइबर सेक्युरिटी डेस्क’बारे डेमोस्ट्रेसन ९नमुना० देखाएका थिए । यी दुई आइटी कम्पनीले उक्त डेस्कको लागि सिस्टम विकासको काम गर्नेछन् ।

नेपाली सिनेमा उद्योगले सामना गरिरहेको साइबर हमलाबाट कसरी छुटकारा पाउने विषय र बोर्डले चाल्न लागेको कदमबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बोर्ड अध्यक्ष भुवन केसीले बताए । ‘सामाजिक सञ्जालले साइबर सुरक्षाको विषयमा नयाँ चुनौतीहरू सिर्जना गरेको छ । हामीले नेपाली सिनेमाहरू अनलाइन लिक वा पाइरेटेड भएका प्रशस्तै उदाहरणहरू देखेका छौं, जसले यो उद्योगलाई ठूलो नोक्सान र्पुयाएको छ । यसबाहेक, हाम्रा कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमलाहरू हुने गरेका छन्,’ उनले भने, ‘यी चुनौतीहरुलाई सम्बोधन गर्न बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ सम्बन्धी डेडिकेटेड डेस्क स्थापना गर्न नीति लिँदै सक्रिय कदम चाल्ने निर्णय गरेको छ ।’

केसीले ‘साइबर सेक्युरिटी’ एक जटिल मुद्दा रहेकाले यसलाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्नेमा जोड दिए । नेपाली सिनेमा र सिनेमाकर्मीहरुले भोगिरहेका साइबर खतराहरू न्यूनीकरण गर्न नेपाल सरकार, नेपाल प्रहरी, सिनेमा निर्माताहरू, सामाजिक सञ्जाल प्लेटफर्महरू र अन्य सरोकारवालाहरूसँग मिलेर काम गर्नेपर्ने उनको भनाई छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेलले बोर्डले चालेको कदम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै प्रविधि केन्द्रले आवश्यकता अनुसार सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, सूचना प्रविधि विभागका महानिर्देशक श्रेष्ठले पनि ‘सिनेमा साइबर सेक्युरिटी डेस्क’लाई आवश्यक सहयोगको लागि नेपाल सरकार तत्पर रहेको बताए । रजिष्ट्रार पुडासैनीले साइबर सेक्युरिटी र बौद्धिक सम्पतीको संरक्षण परस्पर रहेको बताउँदै बोर्डसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले तुरुन्तै लागु हुने गरि साइबर सेक्युरिटी डेस्कलाई अघि बढाउन जोड दिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रेग्मीले नेपाल प्रहरीले साइबर सेक्युरिटीको लागि डेडिकेटेड ब्यूरो ‘साइबर ब्यूरो’ नै सञ्चालन गरेको जनाउँदै सिनेमा र सिनेमाकर्मीहरुका हरेक समस्या समाधान गर्न नेपाल सधैं तयार रहेको बताए ।