‘प्रेमा’लाई प्रिमियरमा मिल्यो मिश्रित प्रतिक्रिया

‘प्रेमा’लाई प्रिमियरमा मिल्यो मिश्रित प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘प्रेमा’ले बुधबार साँझ राजधानीमा ग्राण्ड प्रिमियर शोको आयोजना गरेको थियो । प्रिमियरपछि सिनेमाकर्मीले सिनेमाप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन् ।

सिनेमा ‘महापुरुष’बाट डेब्यू अभिनेत्री अञ्जना बराइलीले सिनेमा आफूलाई राम्रो लागेको बताइन् । उनले सिनेमाको प्रमुख तीन कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि श्रेष्ठको अभिनय मनपरेको बताइन् । ‘नेपालमा पनि प्रेमकथाका सिनेमा बन्छन् । प्रेमाको प्रेमकथा यहाँको कथा र प्रस्तुतीकरण भन्दा फरक लाग्यो’, उनले भनिन् ।

अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक सिनेमा हेर्न पाएको खुलाए । ‘शुभेच्क्षा मेरो मनपर्ने कलाकार हो । उहाँको अभिनय अब्बल छ । अहिलेको युवापुस्ताको प्रेमसँग सिनेमाको कथा कहिँ कतै जोडिन्छ’, उनले भने ।

अभिनेत्री सन्ध्या केसीले सिनेमाले आम दर्शकलाई मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको बताइन् । ‘सिनेमाका प्रमुख तीन कलाकारको अभिनय राम्रो छ । सिनेमाले दर्शकलाई बाँधेर राख्छ’, सन्ध्याले भनिन् ।

सिनेमाका अभिनेता अरुण क्षेत्रीले आफू हिजोसम्म ‘न्यूट्रल’ रहे पनि प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट ढुक्क रहेको बताए । ‘हिजोसम्म म न्यूट्रल अवस्थामा थिएँ । किनकी सिनेमा बाहिर आइसकेको थिएन । तर आज प्रिमियरमा प्राप्त प्रतिक्रियाले म उत्साहित छु’, अरुणले भने ।

अभिनेत्री शुभेच्क्षा खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताइन् । ‘म अत्यन्त खुशी छु । मेरो मेहनतलाई सबैले स्वीकारिदिनुभएको छ । मेरो भूमिकाले तारिफ पाउँदा आभारी छु’, शुभेच्क्षाले भनिन् ।

निर्देशक गोविन्द सिंह भण्डारीले सिनेमा हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग कनेक्ट गरेको बताए । ‘मेरो कथा र निर्देशनप्रति दर्शकहरु सहमत हुनुहुन्छ भन्नेमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले म ढुक्क भएँ’, उनले भने ।

निर्माता विवेक घिमिरेले सिनेमाको टिमले राम्रो काम गरेको छ भन्नेमा आफू ढुक्क रहेकोमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले थप ढुक्क भएको खुलाए । ‘मैले स्क्रिप्ट पढ्दा खेरी नै सिनेमामा लगानी गर्न मन लागेको थियो । आजको प्रिमियरपछिको प्रतिक्रियाले मेरो लगानी खेर नजानेमा म आशावादी छु’, उनले भने ।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सिनेमा बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो । सिनेमामा अरुण, सुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ । सिनेमाको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।