बैशाखबाट नेपालमा खिचिने विदेशी सिनेमामा ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने

बैशाखबाट नेपालमा खिचिने विदेशी सिनेमामा ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी बैशाख १ गतेदेखि लागू हुने गरी नेपालमा छायांकन गर्न आउने विदेशी सिनेमाले अनिवार्य रुपमा ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने नियम ल्याउने भएको छ । विदेशी सिनेमाले नेपालमा छायांकन गर्दा प्राविधिक संघसँग अनिवार्य अनुमति लिनुका साथै सहकार्य गर्नुपर्ने नियम पनि लागू गर्ने संघको तयारी छ ।

त्यस्तै, नेफ्टाले बैशाख १ देखि छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । १२ घण्टाको सिफ्ट सिस्टममा बिहान ७ देखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राती ९ बजेसम्म प्राविधिकले काम गर्नुपर्ने नेफ्टा अध्यक्ष पुष्कर लामाले बताए । अन्तर्राष्ट्रिय सिनेमा उद्योगमा कार्यरत प्राविधिकको अभ्यासलाई हेरेर नेपालमा यस्तो व्यवस्था लागू गर्न लागिएको उनको भनाई छ ।

अतिरिक्त समय काम गर्नुपरेमा निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्ने निर्णय नेफ्टाको हालै बसेको कार्यसमिति बैठकले गरेको हो । ‘२०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी थियो तर कोरोना महामारीले रोकियो,’ अध्यक्ष लामाले भने, ‘सिनेमाको अहिलेको अवस्थालाई हेरेर यो नियम ल्याएका हौं । जिम्मेवार श्रमिक संस्थाले भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ ।’

बैशाख १ गतेदेखि नेफ्टाको सदस्यता नलिने प्राविधिकले काम गर्न नपाउनेदेखि संस्थाबाट सुविधा पनि नपाउने भएका छन् । प्राविधिकको हकहित र सुरक्षालाई ध्यानमा राख्दै दैनिक आइपर्ने समस्यालाई न्यूनीकरण गर्नका लागि यो नियम ल्याउन लागिएको अध्यक्ष लामाले बताए । सिफ्ट प्रणाली कार्यान्वयन गर्न सिनेमा सम्बद्ध सबै निकायसँग सहकार्य गर्ने पनि अध्यक्ष लामाले बताएका छन् ।