छायांकन अगावै ‘हात्तीछाप’को मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार विक्री

छायांकन अगावै ‘हात्तीछाप’को मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार विक्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहने सिनेमा ‘हात्तीछाप’को छायांकन अगावै मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार विक्री भएको छ । नेप फिल्मले सिनेमाको प्रदर्शन अधिकार खरिद गरेको हो । नेप सिनेमाका प्रमुख रमेश ढकालले मध्य पूर्वी मुलुकमा सिनेमाको प्रदर्शन अधिकार महंगो मूल्यमा खरिद गरेका हुन् ।

सिनेमा टिमप्रतिको विश्वासका कारण निर्माण अगावैदेखि सिनेमाको विदेशमा माग बढेको निर्माता किरण नेपालीले बताए । छायांकन अगावै सिनेमाको सम्पूर्ण विदेश राइट्स विक्री गर्ने उनको योजना छ । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुन लागेको सिनेमामा विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने र कविता आलेको पनि अभिनय रहनेछ ।

रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको आगामी बैशाखबाट छायांकन सुरु हुने बताइएको छ । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । निर्माता नेपालीले निर्माण गरेको सिनेमा दुई नम्बरी यो बर्ष प्रदर्शनमा आएको व्यावसायिक रुपमा सफल भएको थियो । यही सिनेमाको कलाकारलाई लिएर निर्माता नेपाली ‘हात्तीछाप’ निर्माण गर्दैछन् ।