चलचित्र विकास बोर्डले लघु सिनेमा प्रतियोगिता आयोजना गर्ने

चलचित्र विकास बोर्डले लघु सिनेमा प्रतियोगिता आयोजना गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले लघु सिनेमा प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला सँस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु सिनेमाको प्रतियोगिता गरिएको हो ।

अघिल्लो महिना मात्र भारतीय निर्देशक अनुपम बर्वेलाई प्रशिक्षकमा झिकाएर तीन दिनसम्म पटकथा लेखन तथा निर्देशन विषयक कार्यशाला गरेको बोर्डले लघु सिनेमा प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा सहभागि हुनको लागि बैशाख १० गतेसम्म दरखास्तसहित बोर्डको कार्यालय अथवा ईमेल [email protected] मार्फत पेश गर्नुपर्ने जारी सूचनामा उल्लेख छ ।

प्रतियोगिताको लागि छनोट भएका सिनेमाहरुमध्ये उत्कृष्ट तीन सिनेमाहरुले क्रमशः प्रथम, द्वितिय र तृतिय गरी एक लाख पचास हजार, एक लाख र पचहत्तर हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कृत सिनेमालाई चलचित्र विकास बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेमा महोत्सवहरु, विशेष प्रदर्शनी आदिमा सहभागी गराउने भुवन केसीले बताए ।

प्रतियोगितामा सहभागी हुने सिनेमाहरु कम्तिमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको हुनुपर्ने र ५० प्रतिशत सिनेमाकर्मीहरु नेपाली भएको हुनुपर्ने सर्त राखिएको छ । साथै, प्रतियोगिता सम्बन्धी सूचना प्रकाशित भएको मितिले पछिल्लो तीन वर्षभित्र निर्माण भएका सिनेमाहरुले मात्र भाग लिन पाउने र ती सिनेमाहरुले बोर्डबाट अनिवार्य निर्माण इजाजत लिएको हुनुपर्ने उल्लेख गरिएको छ ।