अर्जुन कुमारको ‘फाटेको जुत्ता खै’मा निर्माताको रुपमा भित्रिए देव कार्की

अर्जुन कुमारको ‘फाटेको जुत्ता खै’मा निर्माताको रुपमा भित्रिए देव कार्की

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अर्जुन कुमारको लगानीमा निर्माण हुने सिनेमा ‘फाटेको जुत्ता खै’ छायांकनमा जाने तयारीमा छ । आगामी वैशाखदेखि सिनेमालाई छायांकनमा लैजाने तयारी निर्माण टिम जुटेको हो ।

दुबईमा केही समय अगाडी आयोजित नेपाल सिनेमा फेस्टमा घोषणा गरिएको सिनेमालाई आगामी कात्तिक २४ गते रिलिज गर्ने योजना निर्माण पक्षको छ । दुबईमै गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुनले सिनेमा निर्माणको घोषणा गरेका थिए ।

छायांकनमा नजाँदै सिनेमामा निर्माताको रुपमा अष्ट्रेलियाबाट देव कार्की पनि जोडिएका छन् । अष्ट्रेलियामा रिलिज अधिकार लिने सहमतिमा उनी निर्माताको रुपमा जोडिएका हुन् । निर्माता कार्कीले लामो समयदेखि अष्ट्रेलियामा नेपाली सिनेमा वितरण गर्दै आइरहेका छन् । पछिल्लो समय अष्ट्रेलियामा नेपाली सिनेमाको ठूलो बजार पनि बनिरहेको छ ।

‘फाटेको जुत्ता खै’को मुख्य भूमिकामा सौगात मल्ल र ऋचा शर्माले अभिनय गर्ने पक्का भैसकेको छ । पहिलो भागलाई निर्देशन गरेका निकेश खड्काले दोस्रो भाग पनि निर्देशन गर्नेछन् । सिनेमामा आकाश बरालको कथा र प्रवेश मलिकको संगीत रहनेछ । वैशाखमा नवलपरासी पूर्वदेखि सिनेमाको छायांकन गरिने छ ।