शुक्रबारबाट प्रदर्शनमा आयो सुरक्षा अभिनित बहाव

शुक्रबारबाट प्रदर्शनमा आयो सुरक्षा अभिनित बहाव

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट यो बर्षको अन्तिम सिनेमाको रुपमा ‘बहाव’ प्रदर्शनमा आएको छ । सिनेमा ‘प्रसाद २’लाई उच्च अदालत पाटनले निर्माताबीचको आर्थिक लेनदेनका कारण प्रदर्शनमा रोक लगाएपछि सोलो रिलिज पाएको सिनेमालाई मल्टीप्लेक्सहरुले औसत शो दिएका छन् भने सिंगल थिएटर पनि राम्रो पाएको छ ।

सिनेमालाई हलमा दर्शक ल्याउन र टिक्न बलियो ‘वर्ड अफ माउथ’ जरुरी देखिन्छ । बुधबार भएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको सिनेमाले स्वतन्त्र हिसाबले बाँच्न चाहने एक महिला पात्रको कथा भनेको छ । ‘मेथड एक्टिङ’को प्रयोग गरिएको सिनेमाको कथा अभिनेत्री सुरक्षा पन्तले निर्वाह गरेको भुमिका सन्ध्याको आँखाबाट भनिएको छ ।

डेढ घन्टा लामो सिनेमा कथा परम्परागत शैलीभन्दा अलग छ । जसले गर्दा सिनेमा दर्शकलाई फरक लाग्न सक्छ । प्रमोद कँडेलको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा सुरक्षाका अलवा कमलमणि नेपाल, अफरान अली, इश्वरी सिंह, हीरालाल कँडेल, सुर्य शर्मा भट्ट र पवन श्रेष्ठको पनि अभिनय छ ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको सिनेमाका निर्माता श्रीधर पौडेल हुन् । पौडेलले यसअघि सिनेमा ‘गोपी’ निर्माण गरेका थिए । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको सिनेमामा अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन तथा मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायांकन छ ।

निर्देशक कँडेलका अनुसार सिनेमा सत्य कथाबाट प्रभावित भएर निर्माण गरिएको हो । सिनेमाका प्रचार सामाग्रीले राम्रो प्रतित्रिक्रया पाएकाले पनि सिनेमालाई दर्शकको राम्रो साथ मिल्ने विश्वास निर्माण पक्षको छ । सिनेमालाई आरआर फिल्म्सले देशभर वितरण गरेको छ । बुधबार राजधानीमा प्रिमियर गरेको सिनेमाको निर्माण टिमले आज पोखरामा समेत प्रिमियर गर्दैछ ।