अप्रिल १६ बाट अष्ट्रेलियाका विभिन्न सहरमा ‘जारी’

अप्रिल १६ बाट अष्ट्रेलियाका विभिन्न सहरमा ‘जारी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित सिनेमा ‘जारी’ अहिले चर्चाको शिखरमा छ । सिनेमाको सार्वजनिक टिजर, ट्रेलर र गीतले बजार तताएको छ । ट्रेलर रिलिज भएदेखि सिनेमाको विदेशबाट पनि उच्च माग भैरहेको छ ।

सिनेमामा समावेश ठेट नेपाली शब्द र अर्गानीक नेपाली कथा अनि परिबेशका कारण चर्चामा आएको जारीले नेपालमा मात्र होइन कि विदेशमा पनि आफ्नो साख र वाहवाही बढाइरहेको छ । बैशाख १ गते नयाँ बर्षदेखी प्रदर्शनमा आउँन लागेको सिनेमा अष्ट्रेलियाको बिभिन्न शहरहरूमा पनि आफ्नो प्रदर्शनको यात्रा अगाडि बढाउँने भएको छ ।

नेपाली सिनेमाको अष्ट्रेलियामा राम्रो बजार बनाउँन सफल भएका रोशन भट्टराई समूहले नै सिनेमा जारीको अष्ट्रेलियामा प्रदर्शनको चाँजो पाँजो मिलाएको हो । ‘यतिबेला सिनेमाको बजार गरम पारिरहेको सिनेमालाई हाम्रो समूहले अष्ट्रेलिया ल्याएको हो । यहाँ रहनु हुने नेपाली सिनेमा मन पराउँनु हुने नेपालीहरूको मागलाई ध्यानमा राखेर सिनेमालाई हामीले अष्ट्रेलिया भित्र्याएका हौं’, भट्टराईले भने ।

सिनेमा ‘जारी’ अप्रिल १६ र १७ तारेख सिड्नीको अर्बनमा रहेको रिडिंग सिनेमा हलमा प्रदर्शन हुने भएको छ । यसै गरी यो सिनेमा अष्ट्रेलियाको राजधानी क्यानभेरामा अप्रिल १८, २१ र २३ तारेखका दिन प्रदर्शन हुनेछ ।

सिनेमाको बैशाख महिनाको पहिलो हप्तादेखी अष्ट्रेलियाका अन्य शहरहरू मेलबर्न, ब्रिसवेन, एडिलेड, पर्थ, डार्विन र तास्मानियामा पनि क्रमशः प्रदर्शन गर्दै लैजाने तयारी भैरहेको छ । जारीको सिड्नी शोको आयोजना एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेस र नेपोज ऐजुकेसन भिसा सर्भिसले गरिरहेका छन् ।