उच्च अदालतले दिएन अन्तरिम आदेश, ‘प्रसाद २’ रिलिजको बाटो खुल्यो

उच्च अदालतले दिएन अन्तरिम आदेश, ‘प्रसाद २’ रिलिजको बाटो खुल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापा निर्देशित सिनेमा ‘प्रसाद २’ रिलिजको बाटो खुलेको छ । उच्च अदालत पाटनले सिनेमाको रिलिज रोक्न केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । ‘सिनेमा प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन’ उच्च अदालतको आदेशमा भनिएको छ ।

न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अरु कानुनी बाटो अपनाउन सक्ने तर सिनेमाको प्रदर्शन रोक्न नमिल्ने आदेश दिएको चलचित्र विकास बोर्डका कानुन व्यवसायी ताराकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि ‘प्रसाद २’को प्रदर्शन २४ चैतमा हुने तय भएको थियो । तर केशव पाण्डेले दायर गरेको रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण प्रदर्शन रोकिएको थियो । अब उच्च अदालतले सिनेमा रिलिजकको बाटो खोलेसँगै निर्माण टिमले सिनेमाको नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारी थालेको वितरक गोपाल काजी कायस्थले बताए ।

सुदर्शन बस्नेत निर्माता रहेको सिनेमाको प्रस्तुतकर्ता सुभाष थापा हुन् । सुशिल पौडेलको लेखन रहेको सिनेमामा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतका कलाकारको अभिनय रहेको छ ।

सुलभ थापा प्रोडक्सनले एसजी फिल्म्ससँग मिलेर निर्माण गरेको सिनेमाका छायाँकार राजेश श्रेष्ठ हुन् । ‘प्रसाद २’मा विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको शब्द रचना तथा संगीत र शैलेस श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ । सिनेमाको वितरण विके फिल्म्सले गर्नेछ ।