बैशाख १ बाट पोस्टपोन्ड भयो ‘नाई नभन्नु ल ६’

बैशाख १ बाट पोस्टपोन्ड भयो ‘नाई नभन्नु ल ६’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख १ गते अर्थात् नयाँ बर्ष प्रदर्शन मिति घोषणा गरेका चार सिनेमामध्ये ‘नाई नभन्नू ल ६’ अन्तिम समयमा आएर पोस्टपोन्ड भएको छ । यो सिनेमाले मैदान छोड्दा नयाँ वर्षका ‘बुलाकी’, ‘जारी’ र ‘बिहे पास’लाई धेरै थोरै भएपनि राहत मिलेको छ ।

‘नाई नभन्नू ल ६’ अब कहिले प्रदर्शनमा आउँछ भन्ने कर्न्फम छैन् । निर्माण पक्षले सिनेमाको चाँडै नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिरहेको छ । सिनेमाका निर्मातामध्ये एक सञ्जय न्यौपानेविरुद्ध विकास बोर्डमा जाहेरी परेका कारण बोर्डले सेन्सर सिफारिसको प्रक्रिया अगाडि नबढाएपछि सिनेमालाई निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको निर्देशक विरासराज अचार्यले जानकारी गराएका छन् ।

तर, उनको कुरामा सत्यता देखिएको छैन् । बोर्डले चैत २८ गते सिनेमाको सेन्सरका लागि सिफारिस गरेको पत्र सार्वजनिक भैसकेको छ । मल्टीप्लेक्सहरुमा राम्रो शोज नपाउने देखेपछि निर्देशक आचार्यले तत्काललाई सिनेमा प्रदर्शनको जोखिम उठाउन नचाहेको देखिन्छ । सिनेमाको एक हप्ता अघिसम्म छायांकन भैरहेकाले प्राविधिक काम पनि पुर्ण रुपमा नसकिनु प्रदर्शन स्थगित हुनुको मुख्य कारण हो ।

सिनेमालाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् । भुपेन्द्र रायमाझी, बसन्त सापकोटा र शरद शंकरको संगीत रहेको सिनेमामा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन (खबपु), बालकलाकार अथर्व, योगिशा खत्रीलगायतको अभिनय छ । आशिर्वादले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गर्दैछन् ।