शुक्रबारबाट तीन सिनेमा ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ रिलिज

शुक्रबारबाट तीन सिनेमा ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबार अर्थात् नेपाली नयाँ बर्ष बैशाख १ गतेबाट सिनेमा हलमा तीन सिनेमा प्रदर्शनमा आएका छन् । नेपालीहरु नयाँ बर्ष निकै हर्ष, उल्लासका साथ मनाउने भएकाले पनि नेपाली सिनेमाले आजको दिन निकै राम्रो व्यापार गर्ने गरेका छन् । यसैले पनि आजबाट हलमा तीन नेपाली सिनेमा ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन् ।

शुक्रबार प्रदर्शनमा आएका तीन सिनेमामध्ये मल्टीप्लेक्सहरुमा दयाहाङ राई र मिरुना मगर अभिनित ‘जारी’ले सर्वाधिक शोज पाएको छ । ‘जारी’को एड्भान्स बुकिङ क्रेज आक्रामक देखिएकाले व्यापारमा पनि अगाडि देखिने निश्चित छ । पहिलो दिन सिनेमाले करोडमाथिको कमाई गर्ने देखिन्छ । शोजको मामलामा ‘बिहे पास’ दोस्रो र ‘बुलाकी’ तेस्रो स्थानमा छ । शुक्रबार प्रदर्शनमा आएका सिसनेमा ‘बुलाकी’ र ‘जारी’ दुवै जारी प्रथामा आधारित छन् ।

बिहीबार राजधानीमा आयोजित प्रिमियर शोमा समेत ‘जारी’ले निकै राम्रो प्रतिक्रिया पाएको छ । सिनेमामा दयाहाङ र मिरुनाका अलवा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापोलगायतको अभिनय छ । लेखक तथा कवि उपेन्द्र सुब्बाले सिनेमाको निर्देशन गरेका हुन् । उनले यही सिनेमाबाट निर्देशकको रुपमा डेव्यु समेत गरेका छन् । निर्देशक रामबाबु गुरुङ सिनेमाका निर्माता हुन् ।

यस्तै, बुधबार भएको ‘स्पेशल स्क्रिनिङ’मा उत्कष्ट प्रतिक्रिया प्राप्त गरेको ‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल, सरस्वती खत्रीको अभिनय रहेको सिनेमाको निर्माता टोपेन्द्र विष्ट हुन् ।

प्रवेश पौडेल निर्देशित ‘बिहे पास’मा दयाहाङ राई, प्रकृति श्रेष्ठ, श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, उमा बानियाँ, नविन शेरचनको अभिनय छ । रोहित कटेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमाको कथा मर्रे केर, आकाश बराल र सजन काफ्लेले तयार पारेका हुन् । आकाश र सजनले बिहे पासको कथालाई पटकथा तथा संवादमा ढालेका हुन् ।