प्रिमियर शोमा ‘जारी’लाई प्रसंशाको ओइरो, शुक्रबार देशैभर हाउसफुल

प्रिमियर शोमा ‘जारी’लाई प्रसंशाको ओइरो, शुक्रबार देशैभर हाउसफुल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘जारी’को बिहीबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमाको प्रिमियर शोमा सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । ‘सिनेमा बनाउन त गाह्रो पो रहेछ त । यो त लेख्नै सजिलो र छ । लेखेपछि बनाउन गाह्रो । बनाएपछि प्रदर्शन गर्न गाह्रो । प्रदर्शन भएपछि शोज पाउन गाह्रो । शोज पाएपछि हेर्न दर्शक आउलान् कि नआउलान् भन्ने चिन्ता त्यहीँ गाह्रो’, उपेन्द्रले आफ्नै लिम्बू लवजमा भने । उनको यो भनाइको अर्थ हो – सिनेमा बनाउन त्यति सहज छैन रहेछ जति हामी सोच्छौँ ।

बिहीबार साँझ भएको प्रिमियरमा ‘जारी’का निर्देशक उपेन्द्र सुब्बा हाँसी हाँसी बोलिरहेका थिए । धेरै नबोल्ने थोरै मात्रै बोल्ने तर हसाइरहने उनी भन्दै थिए, ‘निर्देशकीय काम त गाह्रो रहेछ ।’ कवि तथा राजनितिज्ञ पनि उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ हेर्न हल पुगेका थिए । सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा सवैले ‘जारी’ उत्कृष्ट मौलिक नेपाली सिनेमा बनेको भन्दा प्रसंशाको ओइरो लगाएका थिए । सिनेमा अग्रीम टिकट बुकिङ पनि उच्च रहेकाले बम्पर ओपनिङ गर्ने निश्चित भैसकेको थियो ।

बैशाख १ गतेबाट प्रदर्शनमा आएकको सिनेमाको प्रिमियर हेर्न निर्देशक निश्चल बस्नेत, निर्माता तथा अभिनेता खगेन्द्र लामिछाने, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ, निर्माता सरोज न्यौपाने, लेखक प्रदीप भारद्धाज, अभिनेता अरुण क्षेत्री, राजन खतिवडा, अनुप बराल, अभिनेत्री ऋचा शर्मा, सिर्जना लिम्बु, वर्षा सिवाकोटी, बेनिशा हमाल, अञ्जना बराईली, कवि नवराज वाग्ले, विप्लप प्रतिक लगायत हल पुगेका थिए ।

उपेन्द्र ‘कबड्डी’ सिरिजका लेखक हुन् । ‘कबड्डी’ नेपाली सिनेमा जगतमा चलेको सिरिज हो । उपेन्द्र यो सिरिजमा छोटो स्क्रिन टाइम लिने कलाकार पनि हुन् । उपेन्द्र सबैभन्दा पहिला कवि हुन्, त्यसपछि मात्रै उनी सिनेमा लेखक र कलाकार हुन् ।

बिहीबार बेलुका भएको प्रिमियरमा ‘जारी’का मुख्य कलाकार दयाहाङ राईले आफू सिनेमाबारे केही नबोल्ने भन्दै सिनेमा आफैँ बोल्ने बताए । नयाँ वर्षको शुभकामना दिँदै उनले निर्माण भएको लामो समयपछि सिनेमा रिलिज हुन लागेको र आफू उत्साही रहेको बताएका थिए । ‘जारी’ निर्माता रामबाबु गुरुङले नयाँ वर्षको शुभकामना दिएका थिए । ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङ ‘जारी’का निर्माता हुन् ।

कार्यक्रममा मुख्य अभिनेत्री मिरुना मगरले आफू सिनेमाको कथा सुन्न बित्तिकै उत्साही रहेको बताइन् । ‘कबड्डी ४’ भन्दा अगाडि छायांकन भएको सिनेमामा आफूलाई को-एक्टर दयाहाङ राईले ठूलो सहयोग गरेको बताइन् । दर्शकको प्रतिक्रियाका लागि आफू उत्साही रहेको बताइन् ।

कार्यक्रममा वितरक मनोज राठीले आफूहरूलाई विदेशी सिनेमालाई मात्रै प्राथमिकता दिएको आरोप आउने गरेको भन्दै राम्रो सिनेमा बनाए राति १२ बजे पनि नेपाली सिनेमा प्रदर्शन हुने बताए । उनले ‘जारी’ले राम्रो भएकै कारण राम्रो शोज पाएको बताए ।

प्रिमियरमा उपस्थित हुने सबैले सिनेमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् । कलाकार, निर्देशक, निर्माता तथा पत्रकारहरुले सिनेमा राम्रो रहेको बताएका हुन् । लिम्बू समुदायको कल्चर बुझ्ने मौका पनि सिनेमाले दिएको उनीहरुले बताएका थिए । कथा, पटकथा, अभिनय र सिनेमेटोग्राफी सबै पक्ष राम्रो रहेको उपस्थितहरुले प्रतिक्रिया दिएपछि निर्माण टिम उत्साही बनेको छ ।

जारी प्रथामा आधारित रहेको सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् ।