‘जारी’को बम्पर ओपनिङ, शनिबार देशैभरका हलमा दर्शकको उच्च चाप

‘जारी’को बम्पर ओपनिङ, शनिबार देशैभरका हलमा दर्शकको उच्च चाप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयाँ बर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘जारी’ले आक्रमक ओपनिङ गरेको छ । उपेन्द्र सुब्बा निर्देशित जारीले पहिलो दिन २ करोड १ लाख कमाएको वितरक कम्पनी ‘द टी फल्क्स फिल्म्स’ले जानकारी गराएको छ । शुक्रबार सिनेमाको देशभरका हलमा शतप्रतिशत अकुपेन्सी रहेको थियो ।

शनिबार बिहानै देखि हलमा दर्शकको उच्च चाप रहेकाले सिनेमाले देशैभर आक्रमक ब्यापार गर्ने देखिन्छ । शनिबार सिनेमाको कमाई २ करोड ३० लाखभन्दा बढी  हुने प्रक्षेपण गरिएको छ । यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका लेखक तथा कवि उपेन्द्र सुब्बाले जारीलाई दर्शकको साथले खुशी मिलेको बताउँछन् ।

सिनेमाले बम्पर सुरुवात गरेपटि निर्माण टिमले बिग मुभिजमा दर्शकमाझ केक काटेर अभिनेता दयाहाङ राईको जन्मदिन पनि मनाएको थियो । अभिनेता राईले यसरी दर्शकमाझ आफ्नो जन्मदिन मनाउन पाउँदा निकै खुशी लागेको छ । बैशाख १ जन्मदिनमा मलाई राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री र जारीको सफलताले दोहोरो खुशी मिलेको भन्दै दर्शकसँग खुशीयाली साट्न पाउदा हर्षित भएको बताए ।

‘जारी’ले काठमाडौं उपत्यका र मोफसलका विभिन्न शहरहरुमा उल्लेख्य दर्शकको साथ पाएको छ । सिनेमाका कार्यकारी निर्माता मणीराम पोखरेलले ‘जारी’ बैशाख १ नै बिदेशमा पनि थुप्रै ठाउँमा रिलिज भैरहेको बताए । आफ्नो टिमले निर्माण गरेको सिनेमालाई दर्शकको उच्च साथ मिल्दा आफुहरुलाई अझै मौलिक र नेपाली कथामा सिनेमा निर्माण गर्न हौसला मिल्ने बताउँछन् ।

सिनेमाकी मुख्य अभिनेत्री मिरुना मगर पनि ‘कबड्डी ४’ पछि ‘जारी’मा पनि दर्शकबाट त्यही लेवलमा साथ पाउँदा खुशी लागेको बताउँछिन् । यसरी एकपछि अर्को सिनेमाले दर्शकको साथ पाउँदा आफुलाई पनि केही फरक अनि मेहनत गर्न हौसला मिल्ने उनको भनाई छ । अभिनेता बिजय बराल पनि सिनेमा सफल हुँदा कलाकारलाई फरक भुमिकामा काम गर्न जोश आउने बताउँछन् ।

जारी प्रथामा आधारित रहेको सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् ।